विष्णुप्रसाद देवकोटा
डोल्पा, असार १८।उपल्लो डोल्पालाई सदरमुकाम दुनैसँग छिटो सडक सञ्जालमा जोड्ने उद्देश्यले भेरी करिडोरअन्तर्गत शिसौल–ल्यासिक्याप–दुनै सडक खण्डमा नयाँ निर्माण मोडालिटी अघि बढाइएको छ।
नेपाली सेनामार्फत शिसौलदेखि ल्यासिक्याप हुँदै दुनैतर्फ ३३ किलोमिटर दुई लेन सडक ट्र्याक खोल्ने निर्णय भएको हो। यसका लागि करिब ८ करोड ८८ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।
हाल दुनै–ल्यासिक्याप सडक खण्ड निर्माण व्यवसायीमार्फत निर्माणाधीन रहे पनि काम अपेक्षित गतिमा अघि नबढेपछि माथिल्लो खण्डबाट सडक निर्माण सुरु गर्ने रणनीति अपनाइएको हो।
यसबाट दुवैतर्फबाट निर्माण कार्य अगाडि बढ्ने र उपल्लो डोल्पासम्म सडक पहुँच छिट्टै विस्तार हुने अपेक्षा गरिएको छ।
डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाको नेतृत्वमा पूर्वाधार विकास मन्त्रालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैठकमा मन्त्रालयका सहसचिव कृष्णराज पन्थ, उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाका निर्देशक धर्मेन्द्र झा, भेरी करिडोर जाजरकोट–दुनै–मरिम–तिन्जे–धो सडक आयोजनाका प्रमुख नरेशप्रसाद केशरी, नेपाली सेनाका सहायकरथी अशोक शाह तथा प्रमुख सेनानी अभिषेक बस्नेत लगायतको सहभागिता रहेको थियो।
सांसद बुढाका अनुसार दुनैबाट माथिल्लो डोल्पातर्फ सडक निर्माण गर्दा निर्माण सामग्री, भारी उपकरण र मेसिनरी पुर्याउन कठिनाइ हुने भएकाले शिसौलबाट तलतर्फ निर्माण सुरु गर्ने निर्णय गरिएको हो। यसले सडक निर्माणको गति बढाउने र आयोजना कार्यान्वयनमा देखिएको अवरोध हट्ने विश्वास गरिएको छ।
उनले जगत र काइके गाउँपालिका अन्तर्गत लावनबगर क्षेत्रमा आवश्यक बेलिब्रिज निर्माण गर्ने तयारी पनि भइरहेको जानकारी दिए। ती पुल निर्माण भएपछि वर्षायाममा हुने आवागमन समस्या समेत कम हुने अपेक्षा गरिएको छ।
भेरी करिडोर जाजरकोट–दुनै–मरिम–तिन्जे–धो सडक राष्ट्रिय महत्वको उत्तर–दक्षिण सडक आयोजना हो। यो सडक पूरा भएपछि उपल्लो डोल्पाका शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकासहित चीन सीमासम्म सडक पहुँच विस्तार हुने, पर्यटन, व्यापार, स्वास्थ्य सेवा र दैनिक उपभोग्य वस्तुको ढुवानी सहज हुने अपेक्षा गरिएको छ।
डोल्पा सदरमुकाम दुनै २०७५ मंसिर ४ गते राष्ट्रिय सडक सञ्जालसँग जोडिएको भए पनि जगतपुलदेखि उपल्लो डोल्पासम्मको सडक निर्माण सुस्त हुँदा स्थानीयले अझै सास्ती भोग्दै आएका छन्।
विशेषगरी वर्षायाममा सडक अवरुद्ध हुने, खाद्यान्न तथा निर्माण सामग्री ढुवानी महँगो पर्ने र बिरामीको उद्धारमा कठिनाइ हुने समस्या निरन्तर दोहोरिँदै आएको छ।
अब शिसौलबाट तलतर्फ र दुनैतर्फबाट माथिल्लो क्षेत्रमा एकैसाथ सडक निर्माण अघि बढ्ने भएपछि उपल्लो डोल्पालाई सदरमुकामसँग जोड्ने बहुप्रतीक्षित सडक आयोजनाले नयाँ गति लिने विश्वास गरिएको छ।

डोल्पा न्यूज । १८ असार २०८३, बिहीबार २०:३०