विष्णुप्रसाद देवकोटा
डोल्पा। लामो समयसम्म वर्षा नहुँदा हिमाली जिल्ला डोल्पामा खडेरी बढ्दै गएको छ। खेतबारीमा रोपिएको धानसहित अन्य बाली सुक्न थालेपछि स्थानीयवासीले वर्षाको कामना गर्दै परम्परादेखि चलिआएको धार्मिक जलजात्रा सम्पन्न गरेका छन्।
त्रिपुरासुन्दरी नगरपालिका–१ टाँकेडाँडास्थित प्रसिद्ध धार्मिकस्थल श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिरबाट विशेष पूजाआजा गरी भगवतीको निशान, जलकमण्डलु, शंखध्वनि र बाजागाजासहित जलजात्रा निकालिएको हो।
जलजात्रामा मन्दिरका पुजारी, निशानी, छडीदार तथा स्थानीय भक्तजनको उल्लेखनीय सहभागिता रहेको थियो।
जलजात्राका क्रममा पुजारीसहितको टोलीले गाउँका सुक्दै गएका धानखेत, अन्नबाली लगाइएका खेत तथा पानीका विभिन्न मुहानमा पुगेर पवित्र जल छर्कँदै विशेष पूजा गरेको छ। परम्पराअनुसार केही स्थानमा बोका बलि चढाउने चलन पनि कायम छ। स्थानीय विश्वासअनुसार यसरी जलजात्रा गरी भगवतीको आराधना गरेपछि वर्षा भई खडेरी अन्त्य हुने विश्वास रहँदै आएको छ।
जलजात्रा सुरु हुनुभन्दा तीन दिनअघि नै स्थानीय महिला तथा पुरुष मन्दिरमा भेला भई वर्षाको कामना गर्दै भगवतीसँग भाकल गर्ने, अग्निधुनी बाल्ने र रातभर जाग्राम बस्ने प्राचीन परम्परा अझै जीवित छ। धार्मिक विधिअनुसार मन्दिर परिसरका सिमकुनामूल, रल्ली, गल्ली सिमकुना लगायतका पानीका मुहानमा विशेष पूजा गरिन्छ। त्यसपछि भगवतीको गुठी जग्गामा रोपिएको धानखेतमा हिलो खेल्दै मन्दिरको नित्यपूजामा प्रयोग गरिएको पवित्र जल आकाशतर्फ छर्कने चलन रहेको छ।
मन्दिरका पुजारी यज्ञप्रसाद उपाध्यायका अनुसार हिन्दू धर्मग्रन्थ श्रीस्वस्थानी मा मानव उत्पत्तिको समयमा त्रिपुरासुन्दरी भगवती मन्दिरमा मेघले समेत तपस्या गरेको उल्लेख छ। यही धार्मिक मान्यताका आधारमा भगवतीलाई वर्षाकी देवीका रूपमा पूजा गर्ने परम्परा रहिआएको उनले बताए।
उनका अनुसार रामनवमी र विजया दशमीबाहेक अन्य समयमा मूल मन्दिरबाट बाहिर ननिकालिने भगवतीको निशान लामो समयसम्म पानी नपरी खडेरी परेको अवस्थामा मात्रै जलजात्राका लागि बाहिर निकालिन्छ। “जलजात्रा सम्पन्न गरेपछि जस्तोसुकै खडेरी भए पनि वर्षा हुने जनविश्वास पुस्तौंदेखि रहँदै आएको छ,” उनले भने।
स्थानीयका अनुसार जलजात्रा केवल धार्मिक अनुष्ठान मात्र नभई कृषि, प्रकृति र समुदायबीचको सम्बन्धलाई जीवन्त बनाउने सांस्कृतिक सम्पदा पनि हो। वर्षाको आशामा पुस्तौंदेखि निरन्तर सञ्चालन हुँदै आएको यो परम्पराले डोल्पाको मौलिक धार्मिक तथा सांस्कृतिक पहिचानलाई आज पनि जोगाइरहेको छ।

डोल्पा न्यूज । १७ असार २०८३, बुधबार ०६:४१