
डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका दीगो खानेपानी सरसफाइ तथा स्वच्छता आयाेजना अन्तर्गत सञ्चालित फुल्चिङ खानेपानी तथा सरसफाइ योजनाको दोस्रो सार्वजनिक परीक्षण तथा स्थलगत अनुगमन कार्यक्रम सम्पन्न गरिएको छ ।
योजना कार्यान्वयनलाई पारदर्शी, जवाफदेही र गुणस्तरीय बनाउने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय उपभोक्ता, जनप्रतिनिधि तथा सरोकारवालाबीच खुला छलफल र सवाल–जवाफ गरिएको थियो ।
कार्यक्रममा बोल्दै वास सल्लाहकार विष्णु बोहोराले क्षमता अभिवृद्धिसँगै समुदायमा योजनाप्रति एकनासको बुझाइ विकास गर्न सार्वजनिक परीक्षण आवश्यक रहेको बताए ।
“प्रक्रियागत पारदर्शिता र जवाफदेहितालाई स्पष्ट बनाउँदै योजनाका सबै पक्ष समुदायसमक्ष खुला राख्नु नै दोस्रो अनुगमन र सार्वजनिक परीक्षणको मुख्य उद्देश्य हो,” उनले भने ।
नगर उपप्रमुख देवि घर्तीको नेतृत्वमा गरिएको स्थलगत अनुगमनका क्रममा संरचनाको मापन, निर्माणको गुणस्तर तथा कार्य प्रगतिबारे प्रत्यक्ष निरीक्षण गरिएको थियो ।
त्रिपुरासुन्दरी नगरपालिका वास संयोजक धनप्रसाद बुढाले योजनाको भौतिक र आर्थिक प्रगतिबारे विस्तृत जानकारी दिँदै निर्माण क्रममा देखिएका समस्या, आगामी कार्ययोजना, रकम निकासा तथा खर्च अवस्था, निर्माण सामग्री खरिद प्रक्रिया र अपनाइएका मापदण्डबारे सार्वजनिक सुनुवाइमार्फत जानकारी गराएका थिए । उनका अनुसार योजना अनुगमन ३/४ प्रमुख सूचकका आधारमा मूल्यांकन गरी गरिएको हो ।
कार्यक्रममा सामाजिक विकास समिति संयोजक तथा वडा नं. ३ का अध्यक्ष भक्तबहादुर केसीले योजनाको दीर्घकालीन दिगोपनमा जोड दिँदै मापदण्डअनुसार पाइपलाइन खन्नुपर्ने बताए ।
उनले निर्माण भइरहेका धाराहरूको गुणस्तरमा कुनै कमजोरी भेटिए तत्काल परीक्षण गरी आवश्यक परे पुनः निर्माण गर्न निर्देशन समेत दिए ।
“जनताले निकै राम्रो काम गरेका छन् । तर योजना दिगो बन्न गुणस्तरमा कुनै सम्झौता हुनु हुँदैन,” उनले भने ।
सार्वजनिक सुनुवाइका क्रममा स्थानीय उपभोक्ताहरूले योजना सुरुवातमा देखिएको अस्पष्टता, श्रमदान व्यवस्थापन तथा आर्थिक पारदर्शिताका विषयमा प्रश्न उठाएका थिए । त्यसपछि उपभोक्ता समिति, कार्यान्वयन पक्ष र सरोकारवालाबीच खुला रूपमा छलफल तथा जवाफदेही संवाद गरिएको थियो ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष अनिश बुढाको सभाध्यक्षता तथा त्रिपुरासुन्दरी नगरपालिका उपप्रमुख देवी घर्तीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा योजनाको समग्र निर्माण प्रक्रिया, प्रगति र चुनौतीबारे विस्तृत समीक्षा गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले सार्वजनिक सुनुवाइ, नियमित अनुगमन र गुणस्तर परीक्षणमार्फत मात्र प्रभावकारी योजना कार्यान्वयन र सुशासन सुनिश्चित गर्न सकिने धारणा व्यक्त गरेका थिए ।निर्माण उपभोक्ता समिति माथि उठेका विभिन्न सबालकाे जवाफ निर्माण अध्यक्ष अनिश बुढाले दिएका थिए ।

सार्वजनिक सुनुवाइ अनुगमन र परीक्षण कार्यक्रममा लेखाअधिकृत पुर्ण चाैलागाई सुचना अधिकृत किरण केसी भाैतिक पुर्वाधार विकाश शाखाका ईन्जिनियर लगायत विभिन्न ब्यक्तीहरुकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।

डोल्पा न्यूज । ६ जेष्ठ २०८३, बुधबार १३:४०