ताजा समाचार

डोल्पा प्रहरीद्वारा बैशाखकाे प्रगति विवरण सार्वजनिक

विष्णुप्रसाद देवकोटा
डोल्पा । जिल्ला प्रहरी कार्यालय डोल्पाले आर्थिक वर्ष २०८३ को वैशाख महिनामा सम्पन्न गरेको कार्यप्रगति सार्वजनिक गरेको छ ।प्रहरीका अनुसार वैशाख महिनामा विभिन्न अपराध नियन्त्रण, समुदाय–प्रहरी साझेदारी, सडक सुरक्षा तथा लागूऔषध नियन्त्रणका क्षेत्रमा उल्लेखनीय काम गरिएको छ ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार वैशाख महिनामा १ वटा मुद्दा दर्ता भएको छ भने १ जना प्रतिवादी रहेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी १ उजुरी परेको र १ फर्छ्योट गरिएको उल्लेख गरिएको छ । हराएका व्यक्तिको खोजी सम्बन्धी ९ निवेदन परेकोमा ८ जनालाई फेला पारिएको प्रहरीले जनाएको छ ।
ठाडो उजुरीतर्फ प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा १५ उजुरी परेको र सबै फर्छ्योट गरिएको छ । यस्तै जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त ११ उजुरीमध्ये ७ वटा फर्छ्योट गरिएको जनाइएको छ ।
अपराध न्यूनीकरणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ । नियमित गस्ती, सादा पोशाकमा प्रहरी परिचालन, एलआरपी र एसआरपी गस्तीलाई समेत तीव्र बनाइएको उल्लेख छ । वैशाख महिनामा ५४ एलआरपी, २०२१ एसआरपी, ५७१ पिकेट तथा ६१७ चेकिङ गस्ती परिचालन गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
सवारी दुर्घटनातर्फ २ वटा दुर्घटना भएका छन् । दुर्घटनामा २ वटा सवारी साधन संलग्न रहेका तथा २ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । चेकजाँचका क्रममा ६२ वटा कारवाही गरी ७० हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको प्रहरी निरीक्षक तथा सुचना अधिकारी टाेपेन्द्र बुढामगरले जानकारी दिए ।
विपद्का घटनामा १ आगलागी र १ हावाहुरीका कारण ४ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।
प्राकृतिक स्रोत दोहन नियन्त्रण अन्तर्गत ठूलीभेरी नगरपालिका–३ स्थित भेरी नदीमा अवैध उत्खनन गरिरहेका २ वटा सवारी साधन नियन्त्रणमा लिई १ लाख १ हजार रुपैयाँ जरिवाना गरिएको प्रहरीको भनाइ छ ।
समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रम अन्तर्गत ३४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएकोमा १ हजार ३०५ जना सहभागी भएका थिए । विद्यालयस्तरीय कार्यक्रममा ५०७ विद्यार्थी सहभागी रहेको प्रहरीको तथ्यांक छ ।
प्रहरी हटलाइन तथा डिएसपीको सम्पर्क नम्बरमा वैशाख महिनाभर २५० कल प्राप्त भएका थिए भने नागरिक सहायता कक्षमार्फत १९६ जनालाई सेवा प्रदान गरिएको जनाइएको छ ।
यसैबीच, प्रहरी कार्यालय तथा मातहतको वडा एरियाअन्तर्गत अवैध रूपमा लगाइएको ३९.५ रोपनी क्षेत्रफलको अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया