
विष्णुप्रसाद देवकोटा
दुनै (डोल्पा), असार १६ ।डोल्पामा प्रजनन स्वास्थ्य रुग्णताको समयमै पहिचान गरेर दुर्गम क्षेत्रमा स्क्रिनिङ सेवा विस्तार गर्नु पर्नेमा एक कार्यक्रमका सहभागीले जाेड दिएका छन ।
महिलामा देखिने प्रजनन स्वास्थ्य सम्बन्धी समस्याको समयमै पहिचान, रोकथाम र उपचारलाई प्रभावकारी बनाउन डोल्पामा प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ तथा रोकथामसम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रमका सहभागीले उक्त कुरामा जाेड दिएका हुन ।
स्वास्थ्य सेवा कार्यालय डोल्पाको आयोजनामा दुनैमा सम्पन्न कार्यक्रममा जिल्लाका आठवटै स्थानीय तहका स्वास्थ्य संयोजक, डोल्पा अस्पतालका चिकित्सक, नर्सिङकर्मी जिल्लास्थित संचारकर्मी तथा सरोकारवालाको सहभागिता रहेको थियो।विशेषगरी पाठेघर खस्ने (आङ खस्ने), पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, बाँझोपना, फिस्टुलालगायत प्रजनन स्वास्थ्यसम्बन्धी समस्याको समयमै स्क्रिनिङ र व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका तथ्यांक सहायक आशिष सिंथानी मगरले प्रजनन स्वास्थ्य रुग्णताका पांच चरणकाे बारेमा विगत र बर्तमान अवस्था बारे तथ्यांक प्रस्तुति गरेका थिए ।
कार्यक्रममा जिल्ला अस्पताल डाेल्पाका चिकित्सका शाखा प्रमुख डाक्टर अजय प्रसाद पाण्डे, एमडीजिपि डाक्टर बिदुर तिवारीले दुर्गम भौगोलिक अवस्था, जनशक्तिको अभाव, सीमित बजेट तथा चेतनाको कमीका कारण जिल्लाका अधिकांश महिलाले समयमै स्वास्थ्य परीक्षण गराउन नसकेको उल्लेख गरे।
महिलाहरू अझै पनि प्रजनन स्वास्थ्यसम्बन्धी समस्या खुलेर भन्न हिच्किचाउने भएकाले रोग पहिचान ढिलो हुने र उपचार जटिल बन्दै जाने अवस्था रहेको चिकित्सकहरुकाे भनाइ थियाे ।

डोल्पोबुद्ध, छार्काताङसोंग लगायत उपल्लो डोल्पाका पालिकामा संस्थागत सुत्केरी गराउने दर अझै न्यून छ भने नियमित प्रजनन स्वास्थ्य स्क्रिनिङ सेवा पनि प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन। जनशक्ति र आर्थिक स्रोतको अभावका कारण ती क्षेत्रमा विशेषज्ञ सेवा पुर्याउन चुनौती रहेको उनले बताए।
छलफलका क्रममा प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह र स्वास्थ्य सेवा कार्यालयबीच समन्वय सुदृढ गर्नुपर्ने, आवश्यक स्रोत–साधनको व्यवस्थापन गर्दै दुर्गम बस्तीसम्म सेवा विस्तार गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। साथै नर्सिङ कर्मचारी तथा स्वास्थ्य शाखाका संयोजकको क्षमता अभिवृद्धि गर्दै समुदायस्तरमा व्यापक जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याइएको थियो।
कार्यक्रममा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ र नियमावली, २०७७ ले प्रत्येक महिला तथा दम्पतीलाई प्रजनन स्वास्थ्य रुग्णतासम्बन्धी परामर्श, परीक्षण र उपचार सेवा प्राप्त गर्ने कानुनी अधिकार सुनिश्चित गरेको विषयमा समेत जानकारी गराइएको थियो।
कानुनी व्यवस्थाअनुसार पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने समस्या, बाँझोपना तथा फिस्टुला जस्ता प्रजनन स्वास्थ्य रुग्णताको एकीकृत स्क्रिनिङ र व्यवस्थापन कार्यक्रम नियमित रूपमा सञ्चालन हुँदै आएको भए पनि जिल्लामा यसको पहुँच अझै पर्याप्त हुन नसकेको मातृ नवशिशु शाखा संयाेजक सृजना बाेहाेराले बताइन् ।
प्रजनन स्वास्थ्य रुग्णताकाे समयमै पहिचान तथा नियन्त्रणकाे लागि संचार जगतकाे महत्त्वपूर्ण भूमिका हुने बाेहाेराकाे भनाई थियाे ।तथ्यांकअनुसार डाेल्पामा अझै पनि घरमै सुत्केरी हुनेकाे संख्या रहेकाे र यसले प्रजनन स्वस्थ्यमा समस्या हुने देखिएको जनाइएको छ। जिल्लाकाे अधिकांश क्षेत्रमा धार्मिक परम्परा अनुसार चल्दा महिलाहरुकाे प्रजनन स्वास्थ्यमा समस्या हुने गरेकाे पाइएको छ।
तथ्यांकअनुसार डाेल्पाेबुद्व गाउँपालिकामा स्वास्थ्य संस्थामा संस्थागत सुत्केरी हुनेकाे संख्या शून्य पाइएको छ भने अन्य पालिकामा पनि धार्मिक परम्परा साथै बिबिध समस्याले स्वस्थ्य संस्थामा सुत्केरी नहुने गरेकाे पाइएको छ।
पाठ्यघरकाे मुखकाे स्वस्थ्य परिक्षण गर्दा ३० देखि ४९ बर्षका २ जना महिला र ५० बर्ष माथिका एक जना महिलालाई समस्या देखिएको पाइएको छ । यस्तै स्वास्थ्य परिक्षण पश्चात् आङ खस्ने समस्या भएका ५ जना महिलालाई थप उपचारको लागि जिल्ला बाहिर पठाइएको तथ्यांकमा उल्लेख छ।
कार्यक्रमले दुर्गम क्षेत्रमा बसोबास गर्ने महिलासम्म गुणस्तरीय प्रजनन स्वास्थ्य सेवा पुर्याउन स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ।

डोल्पा न्यूज । १६ असार २०८३, मंगलवार २०:१३