ताजा समाचार

फोतगाउँ मतदान केन्द्रमा खटिएका पाँच कर्मचारी बिरामी, दुई जनाको हवाई उद्धार

विष्णुप्रसाद देवकोटा

डोल्पाको माथिल्लो हिमाली भेगमा अवस्थित फोतगाउँ मतदान केन्द्रमा खटिएका पाँच जना कर्मचारी उच्च हिमाली क्षेत्रको प्रतिकूल मौसम र अक्सिजनको कमीका कारण बिरामी परेका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डो गाउँपालिका–६ अन्तर्गत फोतगाउँस्थित वडा नं. ६ को कार्यालय भवनमा राखिएको मतदान केन्द्रमा कार्यरत कर्मचारीहरूमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, बान्ता हुने तथा श्वासप्रश्वासमा समस्या देखिएको थियो।

बिरामी पर्नेमा जिल्ला अदालतका सहायक कर्मचारी (डिठ्ठा) गोर्खबहादुर थापा, साल्ट ट्रेडिङ कर्पोरेसनका कार्यालय सहयोगी धनबहादुर महतरा तथा निर्वाचन प्रहरी कृष्ण झाक्री, आत्मराम बोहोरा र इन्द्रमान धरला रहेका छन्। तीमध्ये सहायक कर्मचारी थापा र प्रहरी झाक्रीको अवस्था गम्भीर देखिएपछि बुधबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल डोल्पामा ल्याइएको छ।

अन्य तीन जनालाई प्राथमिक उपचारपछि केही तल सुरक्षित स्थानमा सारिएको प्रशासनले जनाएको छ।

फोतगाउँ मतदान केन्द्र सदरमुकाम दुनैबाट करिब छ दिनको पैदल दूरीमा पर्ने अत्यन्त दुर्गम क्षेत्रमा पर्छ। आकस्मिक स्वास्थ्य सेवा पुर्‍याउन कठिनाइ भएपछि हवाई उद्धार गर्नुपरेको नेपाली सेनाले जनाएको छ।

उक्त केन्द्रमा ४० जना मतदाता रहेका छन्। कर्मचारी बिरामी परेपछि वैकल्पिक व्यवस्था मिलाएर मतदान प्रक्रिया प्रभावित हुन नदिने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया