ताजा समाचार
चौथो कार्यकालको दाउमा १२ पृष्ठे २८ बुधे प्रतिवद्धता, तर मतदाताको आँखामा १३ वर्षको लेखाजोखा

डोल्पाको निर्णय–घडी : वाचा, विरासत र विवेकको त्रिकोणमा धनबहादुर बुढा

विष्णुप्रसाद देवकोटा

डोल्पा । चुनावी मौसमसँगै डोल्पामा फेरि विकासका नक्सा खुलेका छन्। तर यसपटक नक्साभन्दा बढी चर्चा हिसाब किताबको छ। तीन कार्यकालको संसदीय यात्रापछि चौथोपटक जनादेश माग्न उत्रिएका धनबहादुर बुढाले १२ पृष्ठ २८ बुधे लामो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै “समृद्ध डोल्पा” को पुनः प्रतिज्ञा गरेका छन्। तर मतदाताको मनोविज्ञान भने फरक मोडमा देखिन्छ—उनीहरू अब सम्भावनाभन्दा परिणामको प्रमाण खोजिरहेका छन्।

प्रतिवद्धताको विस्तार : महत्वाकांक्षाको मानचित्र

सार्वजनिक दस्तावेजमा सडक पूर्वाधारदेखि ऊर्जा, स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद र सांस्कृतिक संरक्षणसम्मको विस्तृत खाका प्रस्तुत गरिएको छ।

भेरी करिडोर कालोपत्रे, डोल्पा–जुम्ला सडक स्तरउन्नति, मध्यपहाडी लोकमार्गसँग दोहोरो पहुँच, दुई अस्पताल निर्माण, ३२८ मेगावाट जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवमा सूचीकृत गराउने पहल जस्ता महत्वाकांक्षी योजना समेटिएका छन्।

पर्यटनतर्फ फोक्सुण्डो ताल वरिपरि साइकल सर्किट निर्माण, डोल्पालाई शून्य प्रदूषण इको–जोन घोषणा गर्ने प्रस्ताव र त्रिपुरासुन्दरी मन्दिर लाई धार्मिक–पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने प्रतिवद्धता उल्लेखनीय छन्।

यसका अतिरिक्त उपल्लो डोल्पाका सांस्कृतिक सम्पदालाई विश्व सम्पदा सूचीमा राख्न पहल, पूर्ण इन्टरनेटयुक्त जिल्ला, चलचित्र छायांकनको केन्द्र, हाई–अल्टिच्युड स्टेडियम, जडीबुटी प्रशोधन उद्योग र डोल्पा सभ्यता संरक्षण विधेयक निर्माण जस्ता दीर्घकालीन दृष्टिकोणका योजना पनि समावेश छन्।प्रतिवद्धताको भाषाशैलीले दूरदृष्टि देखाउँछ, तर प्रश्न यथावत् छ,कार्यान्वयनको विश्वसनीय आधार के ?

उपलब्धिको दाबी : निर्माणको राजनीति

बुढाले विगत तीन कार्यकालमा संविधान निर्माण प्रक्रियामा सक्रिय भूमिका खेलेको, जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोडेको, अधिकांश बस्तीमा सडक विस्तार गरेको, दुनै बचाउ कार्यक्रम, रंगशाला निर्माण, कालोपत्रे सडक र मसिनेचौर विमानस्थल जस्ता पूर्वाधार विकासमा योगदान दिएको दाबी गरेका छन्।भाैर्गोलिक विकटता र सीमित स्रोतका बाबजुद पनि डोल्पाले पूर्वाधारमा ऐतिहासिक छलाङ मारेको उनकाे तर्क छ।

असन्तुष्टिको तह : विश्वासको क्षय ?

तर १३ वर्षको निरन्तरतापछि पनि आधारभूत सेवा, रोजगारी सिर्जना, गुणस्तरीय स्वास्थ्य र शिक्षामा अपेक्षित सुधार नदेखिएको भन्दै मतदातामाझ असन्तुष्टि बढ्दो छ।

झनै परिवारभित्रबाटै विकास योजनामा कमिशन, ठेक्का सेटिङ र आफन्तवादको आरोप सार्वजनिक भएपछि चुनावी बहस व्यक्तिगत विश्वसनीयतामा केन्द्रित हुन पुगेको छ। आरोपहरू प्रमाणित नभए पनि राजनीतिक प्रभाव भने देखिन थालेको छ।विश्लेषकहरू भन्छन् चुनाव प्रतिवद्धताको भन्दा बढी चरित्र र पारदर्शिताको परीक्षा हो।

बदलिँदो मतपरिवेश : पुस्तान्तरण र क्षेत्रीय सन्तुलन

डोल्पाको राजनीतिक भूगोल पनि परिवर्तनशील छ। ठूलीभेरी, त्रिपुरासुन्दरी, मुड्केचुला र जगदुल्ला क्षेत्रमा पुस्तान्तरणको माग र क्षेत्रीय प्रतिनिधित्वको बहस चर्किंदै गएको छ।युवा मतदाता अब केवल अनुभवी नेतृत्वको निरन्तरताभन्दा बढी सहभागिता र अवसरको खोजीमा देखिन्छन्।अघिल्ला चुनावहरूमा सहज देखिएको समीकरण यसपटक त्यति सरल छैन। संगठनात्मक बल, व्यक्तिगत प्रभाव र विकासको भाष्य पर्याप्त हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ।

अन्तिम प्रश्न : डोल्पाले के रोज्छ ?

यो निर्वाचन डोल्पाका लागि केवल एक उम्मेदवारको जित हार होइन; यो निरन्तरता र परिवर्तनबीचको वैचारिक छनोट हो।धनबहादुर बुढाका लागि यो चुनाव राजनीतिक विरासतको सुरक्षा हो भने मतदाताका लागि १३ वर्षको मूल्याङ्कन।अब मतपेटिकाले निर्णय गर्नेछ वाचा पुनः विश्वास बन्छ,कि विश्वास पुनः वाचा खोज्न बाध्य हुन्छ याे भने डाेल्पाली जनकाे हातमा छ ।

तपाईको प्रतिक्रिया