विष्णु देवकोटा
गोर्खा वेल्फेयर ट्रष्टको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय डोल्पाको सहयोगमा डोल्पा जिल्ला अस्पतालमा तीनदिने विशेषज्ञ शिविर सम्पन्न भएकाे छ ।२०८२ माघ २१ गतेदेखि २३ गतेसम्म विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको थियाे। शिविरबाट डोल्पाका ६ सय ६६ जना नागरिकले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
सेवा लिनेहरू मध्ये ३ सय२० जना पुरुष र ३ सय ४६ जना महिला रहेका छन्। शिविरका क्रममा नाक, कान, घाँटी सम्बन्धी जटिल शल्यक्रिया (माइरिङ्गोप्लास्टी) ५२ जनामा गरिएको थियाे भने ३ जनाकाे सामान्य शल्यक्रिया गरिएको अस्पतालका प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए ।
त्यसैगरी, कान सुन्ने समस्या भएका नागरिकलाई श्रवण उपकरण वितरण गरिएको छ। अपाङ्गता भएका ९६ जनालाई आवश्यक उपकरण प्रदान गरिएको छ भने थप उपचार आवश्यक परेका २६ जना बिरामीलाई उच्च उपचारका लागि प्रेषण गरिएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी, डोल्पा प्रति आयोजकले धन्यवाद व्यक्त गरेका छन्। शिविरको उद्घाटन तथा समापन डोल्पा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको हो।
गोर्खा वेल्फेयर ट्रष्टले यसअघि आ.व. २०७६/७७ मा पनि डोल्पामा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको स्मरण गर्दै यसपटकको योगदानप्रति विशेष कृतज्ञता व्यक्त गरिएको डाक्टर रावलले बताए। आब २०७६/७७ र २०८२ सालमा संस्थालाई जिल्लामा भित्र्याउने महत्वपूर्ण भूमिका स्वास्थ्य सेवा कार्यालय डोल्पाका कार्यालय प्रमुख डा. सिजन रावलले निर्वाह गरेका थिए ।

डोल्पा न्यूज । २५ माघ २०८२, आईतवार २१:२६