डोल्पा । ठुलीभेरी नगरपालिकाले चालु आर्थिक वर्षका विकास योजनालाई प्रभावकारी र समयमै कार्यान्वयन गर्न वडा तहबाटै योजना सम्झौता तथा काम सञ्चालनको प्रक्रिया अघि बढाउने भएको छ।
नगरप्रमुख सुवर्ण बुढाका अनुसार नगरपालिकाका प्रत्येक वडामा प्राविधिक जनशक्ति उपलब्ध गराई योजना कार्यान्वयनका लागि आवश्यक प्राविधिक सहजीकरणको व्यवस्था गरिएको छ।
वडा तहमा जनप्रतिनिधि, प्राविधिक कर्मचारी तथा स्थानीय जनसमुदायको उपस्थितिमा योजनाबारे छलफल गरी उपभोक्ता समिति छनोट, योजना सम्झौता र निर्माण कार्य सञ्चालन गर्न आग्रह गरिएको छ।
नगरप्रमुख बुढाले योजना छनोटदेखि कार्यान्वयनसम्म स्थानीय समुदायको सहभागिता र समन्वयलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनका अनुसार वडामा हुने छलफलबाट सहमति कायम गरी योजना सम्झौता र काम अघि बढाउनुपर्नेछ।
योजना कार्यान्वयनमा अनावश्यक विवाद सिर्जना गर्ने वा प्रक्रिया लम्ब्याएर काममा ढिलाइ गर्ने अवस्था आए नगरपालिका वैकल्पिक प्रक्रियाबाट अघि बढ्न बाध्य हुने नगरप्रमुख बुढाले स्पष्ट पारेका छन्।
“योजना कार्यान्वयनमा विवाद र ढिलाइ भए नगरपालिकाले टेन्डर प्रक्रियाबाट अघि बढ्नुपर्ने अवस्था आउन सक्छ,” नगरप्रमुख बुढाले भने।
नगरपालिकाले विकास योजनालाई कागजमै सीमित नराखी समयमै कार्यस्थलमा पुर्याउने उद्देश्यले वडा तहमा प्राविधिक तथा प्रशासनिक सहजीकरण बढाएको जनाएको छ।

डोल्पा न्यूज । १३ आश्विन २०८३, मंगलवार ०९:४०