ताजा समाचार

पहिले हाम्रालाई मत हाल्थेँ, यसपटक राम्रोलाई डाेल्पाकी ८८ वर्षीया दन्ता बुढा

विष्णुप्रसाद देवकोटा

हिमाली जिल्ला डोल्पामा विशेष परिस्थितिमा भइरहेको मतदानमा मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ। भौगोलिक विकटता र दुर्गमताका कारण मतदाताको सहभागिता कम हुन सक्ने अनुमान गरिए पनि अपेक्षाभन्दा बढी शान्तिपूर्ण, स्वच्छ र मर्यादित वातावरणमा मतदान भइरहेको छ।

त्रिपुरासुन्दरी नगरपालिका–२ रुमस्थित ज्योति आबि रुम मतदान केन्द्रमा ८८ वर्षीया दन्ता बुढाले पनि उत्साहका साथ मतदान गरेकी छन्। १९९४ सालमा जन्मिएकी बुढाले जीवनको उत्तरार्धमा आइपुग्दा आठौँ पटक मतदान गर्ने अवसर पाएकी हुन्।

उनले २०४८ सालदेखि संसदीय निर्वाचनहरूमा निरन्तर मतदान गर्दै आएकी बताइन्। विगतका निर्वाचनहरूमा भने आफन्तजनको सल्लाहअनुसार “राम्रोलाई होइन, हाम्रालाई” मत हाल्दै आएको स्मरण गर्दै उनले यसपटक भने परिवर्तनको अपेक्षासहित आफूले योग्य र राम्रा उम्मेदवारलाई मत दिएको बताइन्।

“पहिले आफन्तले भनेकोलाई मत हालिन्थ्यो, तर अहिले परिवर्तन चाहियो भनेर राम्रोलाई मत दिएँ,” उनले भनिन्।

भदौ २३/२४ मा भएको जेनजि आन्दोलनपछि उत्पन्न विशेष राजनीतिक परिस्थितिका बीच भइरहेको यसपटकको निर्वाचनलाई मतदाताले चासोका साथ लिएको देखिएको छ। दुर्गम भूगोल, कठिन मौसम र लामो दूरीका बाबजुद गाउँगाउँबाट मतदाता बिहानैदेखि मतदान केन्द्रमा पुगिरहेका छन्।

ज्योति आबि रुम मतदान केन्द्रका मतदान अधिकृत प्रकाश गिरीका अनुसार मतदान अपेक्षाभन्दा बढी शान्त वातावरणमा भइरहेको छ।

“हामीले सोचेकोभन्दा पनि राम्रो र शान्त वातावरणमा मतदान भइरहेको छ। मतदाताहरू निकै उत्साहित भएर मतदानमा सहभागी भइरहेका छन्,” उनले बताए।

उनका अनुसार उक्त केन्द्रमा ३०९ महिला र ३०२ पुरुष गरी कुल ६११ मतदाता रहेका छन्। दिउँसो २ बजेर ४५ मिनेटसम्म पुरुष १७७ र महिला २०७ गरी जम्मा ४८० जनाले मतदान गरिसकेका छन्, जुन करिब ६२ प्रतिशत हो।

समग्र डोल्पा जिल्लामा भने कुल २४ हजार ११५ मतदाता रहेका छन्। दिउँसो ३ बजेसम्म १४ हजार ८३१ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ, जुन कुल मतदाताको ६१.५० प्रतिशत हो।

दुर्गम हिमाली जिल्लामा चुनौतीपूर्ण भौगोलिक अवस्थाबीच पनि मतदाताको सक्रिय सहभागिता देखिनु लोकतान्त्रिक प्रक्रियाप्रति जनविश्वास बलियो रहेको संकेतका रूपमा हेरिएको छ। निर्वाचन अधिकारीहरूका अनुसार जिल्लाभर हालसम्म मतदान कार्य शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ।

तपाईको प्रतिक्रिया