विष्णुप्रसाद देवकोटा
डोल्पा ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवसिंह ऐडी यतिबेला खेतमै काम गरिरहेका मतदातासँग हातेमालो गर्दै मत माग्न पुगेका छन्। श्रमलाई सम्मान गर्दै सुरु गरिएको घरदैलो अभियानमा उनले ठुलीभेरी नगरपालिका–७, ८ र ९ का बस्तीहरूमा पुगेर प्रत्यक्ष संवाद गरेका हुन्।
जेनजि पुस्ताको प्रतिनिधित्व गर्दै मैदानमा उत्रिएका ऐडीले घरआँगनदेखि खेतबारीसम्म पुगेर आफ्ना एजेन्डा स्पष्ट पारिरहेका छन्। मत माग्न पुगेको रास्वपाको टोलीलाई स्थानीय युवाहरूले भने स्पष्ट प्रतिबद्धता र ठोस भावी कार्ययोजना माग गर्दै प्रश्न तेर्साएका छन्। त्यसको जवाफमा ऐडीले दिनभर मतदातासँग संवाद गर्दै आफ्नो उम्मेदवारीको उद्देश्य, पार्टीको लक्ष्य तथा जनहितप्रति निर्वाह गर्नुपर्ने दायित्वबारे प्रस्ट पारेका छन्।
स्थानीय मतदाताहरूले तीन–तीन कार्यकालसम्म निर्वाचित नेतृत्वबाट अपेक्षित उपलब्धि नआएको गुनासो व्यक्त गर्दै अब नेतृत्व परिवर्तनमार्फत जिल्लाको समृद्धि खोज्नुपर्ने धारणा राखेका छन्। यही कारणले आफ्नो मत ‘घण्टी’ चिन्हमा जाने संकेतसमेत दिएका छन्।
केन्द्रीय तहमा बढ्दो प्रभाव र छायाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी प्रति डोल्पामा पनि जनविश्वास क्रमशः विस्तार हुँदै गएको राजनीतिक वृत्तमा चर्चा छ। खेतको माटोसँगै परिवर्तनको सन्देश बोकेर अघि बढेको यो अभियानले चुनावी माहोलमा नयाँ तरंग सिर्जना गरेको देखिन्छ।

डोल्पा न्यूज । ५ फाल्गुन २०८२, मंगलवार २१:०९