विष्णुप्रसाद देवकोटा
डोल्पा । डोल्पाको ठूलीभेरी नगरपालिका–६ रुपपाटनमा घोडा सरसफाइ तथा घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ ।
रुपपाटनलाई सफा, सुन्दर र पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले थ्राईव हिमालयको आयोजना तथा रुपपाटन युट्युब च्यानलकाे समन्वय र सहकार्यमा ३ हजार ८ सयकाे उचाईमा रहेकाे रुपपाटनमा घाेडा दाैडसंगै सरसफाइ प्रतियोगिता गरिएकाे हाे ।
घोडा दौडसँगै सहभागीले रुपपाटन क्षेत्रमा ४ सय ७४ किलाे फोहोर संकलन समेत गरेका छन। संकलित फोहोर व्यवस्थापनका लागि रुपपानी सामुदायिक वन उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको रुपपाटन युट्युब च्यानलका संचालक तथा प्रतियोगिता आयाेजना समन्वय सहजजीकरण संयाेजक तुलचन्द्र बुढाले जानकारी दिए ।
घोडा दौड प्रतियोगितामा ठूलीभेरी नगरपालिका–५ माझफालका दिनेश बोहोरा प्रथम भएका छन्।
यसैगरी सबैभन्दा बढी तौलको फोहोर संकलन गर्ने विधामा माझफालकै कमल रोकाया विजेता बने। उनले ७९ किलो फोहोर संकलन गरेका थिए।
उत्कृष्ट फोहोर वर्गीकरणतर्फ माझफालकै बम रोकाया विजेता भएका छन्।
तीनवटै विधाका विजेतालाई जनही २५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो।
ठूलीभेरी नगरपालिका भन्दा बाहिरबाट सहभागी भएका दानबहादुर बुढालाई प्रोत्साहनस्वरूप १५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियाे ।घाेडा दाैड प्रतियाेगितामा १३ घाेडाले सहभागीता जनाएका थिए ।
कार्यक्रममा डोल्पाको मौलिक पैसेरी नाच तथा पुरानो लोकभाका ‘लैलालाली’ प्रस्तुत गरिएको थियो।
रुपपाटनको पहिचानसँग जोडिएको घोडा, स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्यलाई पर्यटनसँग जोड्ने उद्देश्यले गरिएको कार्यक्रमले ‘रुपपाटन सफा राखौँ, पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने सन्देश दिएको प्रतियोगिता समन्वय सहजीकरण संयाेजक बुढाले बताए ।प्रतियोगिता असाेज ४ गतेदेखि संचालन भएर सम्पन्न भएकाे हाे ।प्रतियोगिता हेर्न स्थानीयकाे बाग्लाे उपस्थिति रहेकाे थियाे ।
डाेल्पाकाे रुपपाटनमा घोडा दौडासंगै ४ सय ७४ किलो फोहोर संकलन गरियाे
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ८ आश्विन २०८३, बिहीबार १३:०२