विष्णुप्रसाद देवकोटा
डोल्पा ।दुर्गम भूगोलमा अवस्थित स्वास्थ्य संस्थामा बच्चाको जन्म एउटा परिवारको खुसी मात्र हुँदैन।त्यो स्वास्थ्य सेवाको पहुँच,स्वास्थ्यकर्मीको दक्षता र राज्यको उपस्थितिको पनि परीक्षा हुन्छ।
जहाँ अस्पताल टाढा छन्।जहाँ विशेषज्ञ चिकित्सकको पहुँच सहज छैन।जहाँ प्रसूति व्यथा सुरु भएपछि घण्टौँको यात्रा गर्नुपर्ने बाध्यता छ।यसैबीच एउटा सानो बर्थिङ सेन्टरले यसपटक जटिल प्रसूतिको चुनौती सामना गरेको छ।
त्रिपुरासुन्दरी नगरपालिका–३ स्थित सुउ बर्थिङ सेन्टरमा जिउ गाउँकि १९ वर्षीया कृष्णा देवी बोहोरा ३९ हप्ता २ दिनको गर्भावस्थामा बुधबार राति करिब १० बजे प्रसूति व्यथासहित पुगिन् ।स्वास्थ जाँचका क्रममा शिशु सामान्य अवस्थामा थिएन।शिशु उल्टो अवस्थामा थियो।प्रसूतिको क्रममा सुरुमा दाहिने खुट्टा निस्किएको थियो।
यस्तो अवस्थामा प्रसूति गराउनु सामान्य अवस्थाको जस्तो सहज हुँदैन। आमा र शिशु दुवैका लागि जोखिम बढ्न सक्छ। विशेषगरी दुर्गम क्षेत्रमा तत्काल विशेषज्ञ सेवा वा शल्यक्रियाको विकल्प सहज नहुँदा जोखिम अझ ठुलाे बन्न सक्छ।
तर, सुउ बर्थिङ सेन्टरकी एसबीए तालिमप्राप्त अनमी विमसा डिसी (धरला)को नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले अवस्थाको पहिचान गर्दै प्रसूति व्यवस्थापन अघि बढायो।
राति सुरु भएको प्रयास बिहानसम्म जारी रह्यो।अन्ततः बिहीबार बिहान करिब ३ बजे कृष्णा देवीले सुरक्षित रूपमा शिशुलाई जन्म दिन सफल भइन।अहिले आमा र नवजात शिशु दुवै सुरक्षित छन्।यो एउटा सफल प्रसूतिको समाचार मात्र होइन।
दुर्गम डोल्पाको स्वास्थ्य सेवाले बोकेको सम्भावनाको एउटा प्रत्यक्ष उदाहरण पनि हो। डाेल्पामा जब भूगोल चुनौती बन्छ, दक्षता सहारा बन्छ
डोल्पाको भूगोल आफैंमा स्वास्थ्य सेवाका लागि ठूलो चुनौती हो। बस्तीहरू छरिएका छन्। सडक सञ्जाल पूर्ण छैन। आकस्मिक अवस्थामा बिरामीलाई तत्काल सहज रुपमा अर्को स्वास्थ्य संस्थामा लैजान सकिने अवस्था सबै ठाउँमा छैन।
प्रसूति व्यथा सुरु भएपछि समय महत्वपूर्ण हुन्छ।जटिलता देखिएपछि थप उपचारका लागि अर्को स्वास्थ्य संस्थामा लैजानुपर्ने अवस्था आए यात्रा नै जोखिम बन्न सक्छ।त्यसैमा दुर्गम बस्तीमा रहेका बर्थिङ सेन्टर केवल भवन होइनन्।यी गाउँमै उपलब्ध हुने जीवनरक्षाको पहिलो ढोका हुन्।
सुउ बर्थिङ सेन्टरको पछिल्लो घटनाले पनि त्यही आवश्यकता हाम्राे समाजलाई देखाएको छ।
विशेषज्ञ सेवा पुग्न समय लाग्ने ठाउँमा कम्तीमा प्रारम्भिक जोखिम पहिचान गर्न, सुरक्षित प्रसूति गराउन र आवश्यक परे तत्काल रेफर गर्न सक्ने दक्ष जनशक्ति गाउँमै हुनु कति महत्वपूर्ण छ भन्ने यस घटनाले प्रस्ट्याएकाे छ।त्रिपुरासुन्दरी नगरपालिकाका वडानम्वर १ त्रिपुराकाेट,वडानम्वर २- रुम वडानम्वर ७ पहाडा वडानम्वर १० लिकु वडानम्वर ६ फुल्चिङ र वडानम्वर ३ सुउमा गरी पांच वटा बर्थिङ सेन्टर छन तर एउटै चुनौती छ गुणस्तर कायम राख्ने ।
नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सुत्केरी गराउन आवश्यक स्वास्थ्य सामग्री खरिद गरी पाँचवटै बर्थिङ सेन्टरमा उपलब्ध गराएको छ। आवश्यक सामग्रीको आपूर्ति पुग्ने गरी व्यवस्थापन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएकाे छ ।
तर, सामग्री पुग्नु मात्र पर्याप्त हुँदैन।सामग्रीसँगै सीप चाहिन्छ।सीपसँगै निरन्तर अभ्यास चाहिन्छ।अभ्याससँगै आकस्मिक अवस्थाको तयारी चाहिन्छ।बर्थिङ सेन्टरमा कार्यरत सबै अनमीलाई एसबीए तालिमको अवसर र दक्षता कायम राख्ने निरन्तर अभ्यास आवश्यक छ।
अहिले पाँचवटै बर्थिङ सेन्टरमा एसबीए तालिमप्राप्त दक्ष प्रसूतिकर्मी कार्यरत हुनु सकारात्मक पक्ष हो। तर, उनीहरूका लागि पर्याप्त आवासीय सुविधा नहुनु भने अझै चुनौतीकै रूपमा रहेको छ।विशेषगरी दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी बर्थिङ सेन्टरमै उपलब्ध हुनु सेवा गुणस्तरको महत्वपूर्ण आधार हो।
नगर स्वास्थ्य शाखाको बुझाइ : उपलब्धिलाई प्रणालीमा बदल्नुपर्छ
नगर स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठका अनुसार सुउ बर्थिङ सेन्टरमा भएको सफल प्रसूति स्वास्थ्यकर्मीको दक्षता र दुर्गम क्षेत्रमा स्थानीय स्वास्थ्य संस्थाको भूमिकालाई पुष्टि गर्ने घटना हो।
श्रेष्ठको बुझाइमा यस्तो घटनाबाट स्वास्थ्यकर्मीको मनोबल बढाउने मात्र होइन, बर्थिङ सेन्टरको क्षमता अझ बलियो बनाउनुपर्ने सिकाइ लिन आवश्यक छ।
दुर्गम क्षेत्रमा कार्यरत प्रसूतिकर्मीलाई आवश्यक सामग्री, नियमित तालिम, आकस्मिक अवस्थाको अभ्यास र कार्यस्थलमै बस्न सक्ने वातावरण तयार गर्नु अबको प्राथमिकता रहेकाे स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताए ।दुर्गम सुउ स्वास्थ्य चाैकी अन्तर्गतको बर्थिङ सेन्टरमा प्राप्त सफलताले केही प्रश्न पनि छोडेको छ ।एक जना अनमीले जटिल प्रसूति सफलतापूर्वक व्यवस्थापन गरिन्।
आमा र शिशु सुरक्षित भए।तर, अब प्रश्न यतिमै सकिँदैन।यदि अर्को दिन अझ जटिल अवस्था आयो भने?यदि प्रसूतिको क्रममा अत्यधिक रक्तस्राव भयो भने?यदि तत्काल शल्यक्रिया आवश्यक पर्ने अवस्था आयो भने?
यदि रातको समयमा स्वास्थ्यकर्मी उपलब्ध भएनन् भने?यदि बिरामीलाई तत्काल माथिल्लो स्वास्थ्य संस्थामा लैजानुपर्यो भने?
यस्ता प्रश्नको उत्तर घटना भएपछि खोज्ने होइन, घटना हुनुअघि तयार राख्ने स्वास्थ्य प्रणाली आवश्यक देखिन्छ र छ ।
अबको व्यवस्थापन कस्तो हुनुपर्छ?
त्रिपुरासुन्दरी नगरपालिकाले पाँचवटै बर्थिङ सेन्टरलाई केवल प्रसूति गराउने स्थानका रूपमा होइन, सुरक्षित मातृत्व सेवाको आधारभूत केन्द्रका रूपमा विकास गर्नुपर्ने देखिन्छ।
त्यसका लागि सबै बर्थिङ सेन्टरमा आवश्यक प्रसूति उपकरण र औषधिको न्यूनतम मापदण्ड सुनिश्चित गर्नुपर्छ। एसबीए तालिमप्राप्त अनमी तथा प्रसूतिकर्मीको सीप नियमित रूपमा अद्यावधिक गर्नुपर्छ। केवल एकपटक तालिम दिएर पुग्दैन। जटिल प्रसूति व्यवस्थापनको अभ्यास निरन्तर हुनुपर्छ। बर्थिङ सेन्टरमै स्वास्थ्यकर्मी बस्न सक्ने सुरक्षित क्वार्टरको व्यवस्था गर्नुपर्छ। दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मीको उपस्थितिलाई संयोगमा छोड्न मिल्दैन।
प्रत्येक बर्थिङ सेन्टरलाई नजिकको उच्च स्वास्थ्य संस्थासँग तत्काल सम्पर्क हुने रेफरल प्रणालीमा जोड्नुपर्छ।आकस्मिक प्रसूतिको अवस्थामा एम्बुलेन्स वा वैकल्पिक यातायात तत्काल परिचालन गर्न सकिने व्यवस्था हुनुपर्छ।
प्रसूति सेवाको नियमित समीक्षा गर्नुपर्छ। कुन बर्थिङ सेन्टरमा कति प्रसूति भए, कति जटिल केस आए, कति रेफर भए र किन भए भन्ने तथ्यांकका आधारमा आगामी योजना बनाउनु पर्छ।दुर्गम भूगोलका स्वास्थ्यकर्मीलाई जोखिमपूर्ण सेवाका लागि प्रोत्साहन, आवास र आवश्यक सुरक्षा सुविधा उपलब्ध गराउनुपर्छ।
सुउ बर्थिङ सेन्टर : एउटा केस, ठूलो सन्देश
कृष्णा देवी बोहोराको प्रसूति सफल भयो।तर, यसको सबैभन्दा ठूलो उपलब्धि केवल एउटा स्वस्थ जन्म होइन।
यसले देखाएको कुरा हो ।दुर्गम गाउँमा पनि दक्ष स्वास्थ्यकर्मी भए जटिल अवस्थाको प्रारम्भिक व्यवस्थापन सम्भव छ।यसले अर्को कुरा पनि सम्झाएको छ ।
स्वास्थ्यकर्मीको व्यक्तिगत दक्षतालाई संस्थागत क्षमताले साथ दिन सके मात्र यस्तो सफलता दिगो बन्छ।आज विमसा डिसीले एउटा चुनौती सामना गरिन्।भोलि अर्को स्वास्थ्यकर्मीले अर्को चुनौती सामना गर्नुपर्नेछ।
त्यसैले एउटा सफल घटनालाई प्रशंसामा मात्र सीमित नराखी त्यसबाट प्रणाली निर्माणको पाठ सिक्नु आवश्यक छ।दुर्गम डोल्पामा स्वास्थ्य सेवा सुधारको बाटो लामो छ।तर, बाटो असम्भव छैन।सुउ बर्थिङ सेन्टरमा भएको यो सफल प्रसूति त्यही यात्राको एउटा उज्यालो संकेत हो।भूगोलले दूरी बढाउन सक्छ।तर दक्षता, तयारी र जिम्मेवारीले जीवनसँगको दूरी घटाउन सक्छ।

डोल्पा न्यूज । ८ आश्विन २०८३, बिहीबार ०३:२७