ताजा समाचार

वर्षौं अधुरो छ दुनै–तिप्ला सडक;स्थानीयले लगाए पूर्वाधार कार्यालयमा ताला

विष्णुप्रसाद देवकोटा
डाेल्पा तिप्ला गाउँका स्थानीयले पुर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेका छन ।
वर्षौंअघि सुरु भएको दुनै–तिप्ला जोड्ने सडक अधुरै रहेपछि तालाबन्दी गरेका हुन ।सडक निर्माणका क्रममा निस्किएको माटो र ढुंगा दुनै खोलामा खस्दा सदरमुकाम दुनै बस्ती नै जोखिममा पर्न थालेपछि आयोजना थप विवादित बन्दै गएको हाे।सदरमुकाम दुनैदेखि तिप्ला हुँदै थरगाउँ र रुकुम पूर्वको सिमाना तोरीद्वारी समेत जोड्ने लक्ष्यसहित निर्माण शुरु भएर लामो समयदेखि याे निर्माणाधीन सडक अलपत्र अवस्थामा पुगेकाे छ ।
सडक निर्माण तत्काल अघि बढाउन माग गर्दै ठूलीभेरी नगरपालिका–४ तिप्लाका स्थानीय वडा अध्यक्ष जुद्धबहादुर बुढाको नेतृत्वमा जनप्रतिनिधिसहित पूर्वाधार विकास कार्यालय डोल्पामा पुगेका थिए। लामो समयदेखि सडक अलपत्र परेको र पटक–पटकको आश्वासनले समेत निकास नदिएको भन्दै उनीहरूले कार्यालयमा तालाबन्दी गरेका हुन्।
स्थानीयका अनुसार सडक निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि तिप्ला गाउँसम्म सडक पुग्न सकेको छैन। सम्बन्धित निकायलाई पटक–पटक निर्माण अघि बढाउन आग्रह गर्दा पनि ठोस प्रगति नभएपछि तालाबन्दी गर्न बाध्य भएको उनीहरूको भनाइ छ।
वडा अध्यक्ष बुढाले सडक निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि गाउँसम्म सडक नपुगेको भन्दै सम्बन्धित निकायको कार्यशैलीप्रति असन्तुष्टि जनाए।
“सडक निर्माण सुरु भएको वर्षौं बितिसक्यो, तर गाउँसम्म सडक पुगेको छैन। सम्बन्धित निकायसँग पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भयौँ,” उनले भने।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा बहुवर्षीय आयोजनाका रूपमा दुनै–तिप्ला–थरगाउँ हुँदै रुकुम पूर्वको सिमाना तोरीद्वारीसम्म सडक निर्माणका लागि बजेट स्वीकृत गरेको थियो। आर्थिक वर्ष २०७६/७७ बाट निर्माण सुरु भएको सडक तिप्ला गाउँ पुग्नै लाग्दा भने विवाद र अवरोधका कारण रोकिएको हो।
निर्माणका क्रममा सडकबाट निस्किएको माटो, ढुंगा तथा ढिस्को दुनै खोलातर्फ खस्दा सदरमुकाम दुनैको बस्तीमा जोखिम बढेको भन्दै दुनैवासीले विरोध गरेपछि सडक निर्माण रोकिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
तर, सडक निर्माण रोकिएको वर्षौं बितिसक्दा पनि समस्या समाधानको स्थायी विकल्प निस्कन सकेको छैन। सडकले दुनै बस्तीमा पुर्‍याएको असर र भविष्यमा निम्तिन सक्ने सम्भावित जोखिमबारे विभिन्न समयमा जिल्ला प्रशासन, सुरक्षा निकाय, प्राविधिक टोली, स्थानीय जनप्रतिनिधिलगायतको सहभागितामा जिल्लास्तरीय उच्चस्तरीय स्थलगत अनुगमनसमेत हुँदै आएको छ।

दुनै–तिप्ला सडकको हालको रेखाङ्कनबाट बस्तीमा पर्ने जोखिम घटाउने उद्देश्यले सडकको वैकल्पिक एलाइमेन्ट अर्थात् रेखाङ्कन परिवर्तन गर्न सकिने सम्भावनाबारे समेत स्थलगत अध्ययन र छलफल हुँदै आएको स्थानीय जनप्रतिनिधिको भनाइ छ। तर पटक–पटक अनुगमन र प्राविधिक अध्ययन भए पनि त्यसको निष्कर्षअनुसार सडक निर्माणले ठोस गति लिन नसक्दा स्थानीयमा असन्तुष्टि बढेको छ।
स्थानीय सुरेश बुढाका अनुसार निर्माण अघि बढाउने भन्दै सम्बन्धित कार्यालयबाट पटक–पटक आश्वासन आए पनि व्यवहारमा काम हुन सकेको छैन। उनका अनुसार सडक निर्माणका लागि हरेक वर्ष बजेट विनियोजन हुने गरे पनि प्रभावकारी रूपमा काम हुन नसक्दा बजेटसमेत खर्च नभई फिर्ता जाने अवस्था आउने गरेको छ।
यता, पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख इन्जिनियर टेकबहादुर हितानले सडक निर्माणको ठेक्का अवधि थप भइसकेको र आवश्यक बजेटसमेत रहेको बताएका छन्। केही प्राविधिक समस्या समाधान गर्न बाँकी रहेकाले ती विषय टुंग्याएर आगामी भदौको दोस्रो सातादेखि निर्माणले गति लिने उनको भनाइ छ।
“ठेक्काको म्याद थप भइसकेको छ। बजेट पनि पर्याप्त छ। केही प्राविधिक अल्झन सुल्झाएर भदौको दोस्रो सातादेखि निर्माण कार्यले गति लिने गरी काम अघि बढ्छ,” हितानले भने।
तर स्थानीयको प्रश्न भने अब बजेट र ठेक्का म्यादभन्दा पनि सुरक्षित र व्यवहारिक रेखाङ्कनसहित सडक निर्माण कहिले सुरु हुन्छ भन्नेमा केन्द्रित छ।
सदरमुकाम दुनैलाई ग्रामीण बस्ती र रुकुम पूर्वको सीमासँग जोड्ने महत्वपूर्ण सडक वर्षौंसम्म अधुरो रहँदा यसले विकास निर्माणको गति मात्र होइन, आयोजना छनोट, सडकको रेखाङ्कन, प्राविधिक अध्ययन, बजेट कार्यान्वयन र जोखिम व्यवस्थापनको विषयमा समेत गम्भीर प्रश्न उठाएको छ।
एकातिर तिप्ला गाउँसम्म सडक नपुग्दा स्थानीय वर्षौंदेखि यातायातको सुविधाबाट वञ्चित छन् भने अर्कोतर्फ सडक निर्माणकै क्रममा दुनै बस्तीमा जोखिम बढेपछि आयोजना अघि बढाउने कि रेखाङ्कन परिवर्तन गर्ने भन्ने प्रश्नसमेत पेचिलो बनेको छ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, प्राविधिक तथा जनप्रतिनिधिसहितको टोलीले पटक–पटक स्थलगत अनुगमन गरिसकेको अवस्थामा अब अनुगमनमै सीमित हुने कि त्यसबाट प्राप्त प्राविधिक निष्कर्षका आधारमा सुरक्षित विकल्प रोजेर सडक निर्माणलाई निर्णायक रूपमा अघि बढाउने भन्ने जिम्मेवारी सम्बन्धित निकायमाथि छ।
वर्षौंको प्रतीक्षा, पटक–पटकको आश्वासन र अधुरो सडकबाट आजित स्थानीयले यसपटक कार्यालयमै ताला लगाएर राज्यको ध्यानाकर्षण गराएका छन्।

दुई घण्टामै खुल्यो ताला

तिप्ला गाउँबासीले पुर्वाधार विकास कार्यालयमा लगाएकाे ताला जिल्ला समन्वय प्रमुख श्यामबहादुर राेकायासंगकाे छलफलपछि दुई घण्टामै ताला खाेलेका छन।

तपाईको प्रतिक्रिया