ताजा समाचार

त्रिपुरासुन्दरीमा ३५ लाखका तीन बालमैत्री विद्यालय संरचना उद्घाटन, दिगोपना र पारदर्शितामा जोड

विष्णुप्रसाद देवकोटा
डोल्पा(पाहाडा)।त्रिपुरासुन्दरी नगरपालिकाले विद्यालयस्तरमा सुरक्षित खानेपानी, सरसफाइ र समावेशी शैक्षिक वातावरण सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरेको दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना (सुस्वा) अन्तर्गत निर्माण गरिएका बाल, लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय तथा खानेपानी संरचनाहरू एकैदिन उद्घाटन गर्दै सामाजिक लेखापरीक्षण र सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ।
त्रिपुरासुन्दरी–११ को रामशाहा आधारभूत विद्यालय (बन्तडी) तथा वडा नं. ७ काे जनक आधारभूत विद्यालय (दागिना) र वडानम्वर ८काे देउराली आधारभूत विद्यालय (ठाटी) मा निर्माण गरिएका सुविधा सम्पन्न शौचालय र खानेपानी धाराहरू नगरपालिकाकी उपप्रमुख देवी घर्ती र प्रमुख प्रशासकीय अधिकृत राजु कुवँरले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
फिनल्यान्ड सरकार र त्रिपुरासुन्दरी नगरपालिकाको साझेदारीमा ३५ लाख २२ हजार ८७४ रुपैयाँ लागतमा निर्माण गरिएका यी संरचनाले विद्यालयमा अध्ययनरत बालबालिकाका लागि सुरक्षित, स्वच्छ र समावेशी सिकाइ वातावरण निर्माण गर्ने विश्वास लिइएको छ।
उद्घाटनसँगै तीनवटै विद्यालयमा सामाजिक लेखापरीक्षण, खर्च विवरण सार्वजनिक सुनुवाइ तथा सरोकारवालाबीच खुला छलफलसमेत गरिएको थियो।

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उपप्रमुख देवी घर्तीले विगतका अनुगमनका क्रममा देखिएका आवश्यकता र समस्याका आधारमा विद्यालय छनोट गरी परियोजना कार्यान्वयन गरिएको बताइन्। विकासका संरचनाको वास्तविक सफलता निर्माणमा होइन, संरक्षण र अपनत्वमा निर्भर रहने उल्लेख गर्दै उनले स्थानीय समुदाय, विद्यालय र अभिभावकले स्वामित्व ग्रहण गरे मात्र यस्ता संरचनाको दीर्घकालीन उपयोग सम्भव हुने धारणा राखिन्।
प्रमुख प्रशासकीय अधिकृत राजु कुवँरले विश्व विकासका धेरै चरण पार गरिसक्दा आफूहरू अझै आधारभूत पूर्वाधारको उद्घाटन गर्नुपर्ने अवस्थाले विकासको वास्तविक चुनौती उजागर गर्ने बताए।

विद्यालयमा सुरक्षित शौचालय र स्वच्छ खानेपानीको व्यवस्था बालबालिकाको आधारभूत अधिकार र स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै उनले सामाजिक लेखापरीक्षणलाई पारदर्शिता, सुशासन र जवाफदेहिताको महत्वपूर्ण आधारका रूपमा व्याख्या गरे।
उनले फिनल्यान्ड सरकारको सहयोगलाई राहतका रूपमा नभई विकासको ‘बीउपूँजी’ का रूपमा लिनुपर्नेमा जोड दिँदै स्थानीय समुदायले संरक्षण, मर्मत–सम्भार र व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरे मात्र परियोजनाको उद्देश्य पूरा हुने बताए।
त्यसैगरी, सुस्वा परियोजना डोल्पाका सल्लाहकार विष्णुप्रसाद बोहोराले अन्तिम प्राविधिक अनुगमनका क्रममा तीनवटै विद्यालयमा निर्माण भएका संरचनाहरू मापदण्डअनुरूप र सन्तोषजनक गुणस्तरका भेटिएकाले भुक्तानी सिफारिस गर्न कुनै दुविधा नरहेको बताए।

उनले निर्माणसँगै संरक्षण र प्रभावकारी उपयोगलाई निरन्तरता दिन विद्यालय र स्थानीय समुदायको सक्रियता अपरिहार्य हुने धारणा व्यक्त गरे।कार्यक्रममा सुस्वा परियोजनाका नगर संयोजक धनप्रसाद बुढाले परियोजनाको कार्यान्वयन प्रक्रिया, सार्वजनिक सुनुवाइको उद्देश्य, भुक्तानीका चरण तथा अनुगमनको महत्वबारे विस्तृत जानकारी गराउँदै पारदर्शिता, जनसहभागिता र गुणस्तरीय निर्माण सुनिश्चित गर्न यस्ता प्रक्रिया अनिवार्य रहेको स्पष्ट पारे।
कार्यक्रममा त्रिपुरासुन्दरी नगरका सामाजिक विकास संयाेजक तथा वडानम्वर ३ का अध्यक्ष भक्त केसि वडानम्वर ७ का वडाअध्यक्ष खम्ब बुढा वडानम्बर ८ का अध्यक्ष चन्द्ररुप रावत लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा स्थानीय सरोकारवालाले निर्माण गरिएका संरचनाको आवश्यकता, संरक्षण र प्रभावकारी उपयोगबारे धारणा राखेका थिए।
सो अवसरमा विद्यालयका बालबालिकाले सरसफाइ, स्वच्छता, वातावरण संरक्षण र दिगोपनाको सन्देश बोकेका गीत तथा नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप जीवन्त बनाएका थिए।
सार्वजनिक सुनुवाइ, सामाजिक लेखापरीक्षण, गुणस्तर परीक्षण र सामुदायिक सहभागितालाई एउटै मञ्चमा जोडेर सम्पन्न गरिएको यो कार्यक्रमले त्रिपुरासुन्दरी नगरपालिकाले विद्यालय पूर्वाधार विकाससँगै सुशासन, पारदर्शिता, समावेशिता र दिगोपनालाई समान प्राथमिकता दिएको सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ थियो।

तपाईको प्रतिक्रिया