ताजा समाचार

डोल्पाकाे भेत्तीमा अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने चार ट्र्याक्टर नियन्त्रणमा

डोल्पा, असार १० – डोल्पामा नदीजन्य पदार्थको अवैध उत्खनन् तथा ओसारपसारमा संलग्न चार वटा ट्र्याक्टरसहित चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार बुधबार राति करिब ११ः३० बजे ठूलीभेरी नगरपालिका–९ स्थित ठूलीभेरी नदी किनारबाट अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन् गरी जुफालतर्फ ल्याउँदै गरेका ट्र्याक्टरहरूलाई प्रहरी चौकी कालागौँडाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीले नियन्त्रणमा लिएका ट्र्याक्टर र चालकहरूलाई आवश्यक कारबाहीका लागि ठूलीभेरी नगरपालिकाको कार्यालय जुफाल पठाइएको प्रहरी निरीक्षक तथा सुचना अधिकारी पदम रावलले जानकारी दिए ।
नियन्त्रणमा परेका चालकहरूमा ठूलीभेरी नगरपालिका–८ डाँगीबाडाका २२ वर्षीय शुशिल बुढा, २४ वर्षीय दिल विक, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२६ निवासी २३ वर्षीय गोपाल सोती मगर तथा दाङको घोराही उपमहानगरपालिका–७ निवासी २१ वर्षीय पुष्कर खड्का रहेका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाले नदीजन्य पदार्थको अवैध उत्खनन्, संकलन तथा ओसारपसार नियन्त्रणका लागि निगरानी र अनुगमनलाई थप प्रभावकारी बनाइएको जनाएको छ। प्राकृतिक स्रोतको संरक्षण तथा कानुन कार्यान्वयनका लागि यस्ता गतिविधिविरुद्ध कारबाहीलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया