विष्णुप्रसाद देवकोटा
डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटस्थित बाला त्रिपुरासुन्दरी मन्दिरको भेटी चोरी प्रकरण झन् पेचिलो बनेको छ। चोरी भएको भनिएको रकम दुई फरक दिन र दुई फरक स्थानमा फेला परेपछि घटनाले नयाँ प्रश्न जन्माएको हो।
प्रहरीले घटनाको अनुसन्धानका क्रममा एक जनालाई पक्राउ गरेको छ। मन्दिरमा जडान गरिएको सिसिटिभी फुटेजमा देखिएको दृश्यका आधारमा त्रिपुरासुन्दरी–१ त्रिपुराकोटका ३७ वर्षीय जयानन्द उपाध्यायलाई मंगलबार सदरमुकाम दुनैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
उपाध्यायलाई जिल्ला अदालत डोल्पाबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी पदम रावलले जानकारी दिए।
प्रहरी नायव उपरीक्षक अनिलराज गिरीका अनुसार मुख्य पुजारीको किटानी जाहेरीका आधारमा उपाध्यायलाई पक्राउ गरिएको हो।
“अनुसन्धानलाई प्रभावकारी बनाउन उहाँलाई पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा थप को–को पक्राउ पर्छन् भन्ने विषय अनुसन्धानले नै निर्धारण गर्छ,” गिरीले भने।
हराएको भनिएको रकम दुई ठाउँमा
गत भदौ ३ गते मन्दिरको मुख्य पूजास्थलमा राखिएको ५५ हजार ८० रुपैयाँ भेटी रकम चोरी भएको घटना सार्वजनिक भएको थियो।
घटनाको अनुसन्धान जारी रहेकै अवस्थामा सोमबार साँझ मन्दिरको पश्चिमतर्फ रहेको टिमुरको रूखमा बाँधिएको अवस्थामा करिब ५५ हजार रुपैयाँ बराबरको रकम फेला परेको मन्दिर व्यवस्थापन पक्षले जनाएको छ।
खोजतलासका क्रममा रकम फेला परेपछि मन्दिर सुरक्षा पोस्टका इन्चार्ज प्रहरी हवल्दार इन्द्रबहादुर जिसीले उक्त रकम पुजारी रामप्रसाद उपाध्यायलाई हस्तान्तरण गरेका थिए। प्रहरीले घटनास्थलको मुचुल्कासमेत तयार पारेको जनाएको छ।
त्यसको भोलिपल्ट मंगलबार दिउँसो पुनः मन्दिर परिसरमै करिब ५४ हजार रुपैयाँ बराबरको रकम फेला परेको खबर सार्वजनिक भयो। स्थानीयका अनुसार दोस्रोपटक फेला परेको रकम पुजारीले ‘मन्दिरको पैसा’ भन्दै सार्वजनिक गरेका थिए।
प्रहरीले उक्त रकमसमेत आवश्यक मुचुल्का गरी बरामद गरेको जनाएको छ।
एउटै चोरी, दुई स्थानमा रकम !
एउटै घटनामा हराएको भनिएको ५५ हजार ८० रुपैयाँ बराबरको भेटी रकम दुई फरक दिन र फरक स्थानमा फेला परेपछि घटनाको अनुसन्धान थप जटिल बनेको छ।
पहिलोपटक टिमुरको रूखमा बाँधिएको अवस्थामा रकम भेटिनु र त्यसको भोलिपल्ट मन्दिर परिसरमै पुनः करिब ५४ हजार रुपैयाँ फेला पर्नुले रकमको वास्तविक स्रोत, परिमाण र घटनाक्रमबारे थप अनुसन्धान आवश्यक देखिएको छ।
प्रहरीले दुवै स्थानबाट फेला परेको रकम र घटनासँग जोडिएका अन्य प्रमाणलाई अनुसन्धानको दायरामा राखेको जनाएको छ।
अनुसन्धानमा सहयोग गर्ने भन्दै प्रहरी कार्यालय पुगे उपाध्याय
पक्राउ परेका उपाध्यायलाई भेट्न जिल्ला प्रहरी कार्यालय पुगेका मानवअधिकारकर्मी तथा कानुन व्यवसायीहरूसँग उनले आफू अनुसन्धानमा सहयोग गर्नकै लागि प्रहरी कार्यालय आएको बताएका छन्।
घटनामा आफ्नो संलग्नताबारे अनुसन्धानबाटै तथ्य खुल्ने बताउँदै उनले अनुसन्धानमा सहयोग गर्ने धारणा व्यक्त गरेको बताइएको छ।
प्रहरीले भने अहिले नै घटनाबारे कुनै निष्कर्षमा पुग्न नसकिने जनाएको छ।
भेटी रकम चोरी भएको भनिएको घटना, सिसिटिभी फुटेजका आधारमा गरिएको पक्राउ, त्यसपछि दुई फरक स्थानमा फेला परेको रकम र घटनासँग जोडिएका व्यक्तिहरूको बयान—यी सबै पक्षलाई समेटेर प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ।
डोल्पामा भेटी चोरी प्रकरण झन् पेचिलो : एक पक्राउ, दुई ठाउँमा रकम फेला
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ७ आश्विन २०८३, बुधबार १७:३५