विष्णुप्रसाद देवकोटा
डोल्पा । त्रिपुरासुन्दरी नगरपालिकाले मृगौला प्रत्यारोपण गरेका, नियमित डायलाइसिस गराइरहेका, क्यान्सर रोगी तथा मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्चबापत मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।
नगरपालिकाले सूचना जारी गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि नयाँ दर्ता तथा पुराना लाभग्राहीको नवीकरण गर्न सम्बन्धित बिरामीलाई आह्वान गरेको हो। औषधि उपचार खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७९ बमोजिम यस्तो सुविधा प्रदान गर्न लागिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार नयाँ तथा पुराना सबै लाभग्राहीले आवश्यक कागजातसहित २०८३ साल भदौ मसान्तभित्र नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरी नवीकरण वा नयाँ दर्ता गराउनुपर्नेछ।
नवीकरणका लागि चिकित्सकबाट प्रमाणित अनुसूची–१, अनुसूची–२ बमोजिमको निवेदन, क्यान्सर उपचार तथा फलोअप रिपोर्ट, मेरुदण्ड पक्षघात भएका बिरामीको रातो र निलो अपाङ्गता परिचयपत्रको प्रतिलिपि, मृगौला प्रत्यारोपण तथा डायलाइसिससम्बन्धी रिपोर्ट र फलोअप रिपोर्ट पेश गर्नु पर्ने स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र, सम्बन्धित वडाको विपन्न नागरिक सिफारिसपत्र तथा अस्पतालबाट रोग निदान भएको कागजातसमेत आवश्यक पर्ने प्रमुख श्रेष्ठले बताए ।
नवीकरण नगरेका बिरामीलाई उक्त रकम उपलब्ध नगराइने नगरपालिकाले स्पष्ट पारेको छ। नगरपालिकाले सम्बन्धित सबै लाभग्राहीलाई तोकिएको समयभित्र स्वास्थ्य शाखामा सम्पर्क गरी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
त्रिपुरासुन्दरीमा मृगौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २३ श्रावण २०८३, शनिबार १०:५८