ताजा समाचार

शे–फोक्सुण्डो गाउँपालिकाकाे ३३ करोड ५८ लाखभन्दा बढीको बजेट

डोल्पा, असार १० – शे–फोक्सुण्डो गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३३ करोड ५८ लाख २४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।मंगलबार गाउँपालिकाकाे कार्यालय साल्दाङ स्थित गाउँपालिकाका अध्यक्ष धावा सम्दुक गुरुङकाे सभा अध्यक्षतामा संचालित गाउँ सभामा उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले आ.व. २०८३/०८४ काे लागि बार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए ।

शे-फाेक्सुण्डाे गाउँपालिकाकाे १९ औं गाउँ सभा तथा बजेट अधिवेशनले कुल रु  ३३ कराेड ८ लाख २४ हजार  रुपैयाँकाे बजेट पारित गरेकाे हाे। जसमध्ये चालू तर्फ रु १६ कराेड, १९ लाख १३ हजार रहेकाे छ भने पुजीगत तर्फ रु १६ कराेड १९ लाख  ११ हजार रुपैयाँ बजेट  रहेकाे छ।

यहीँ असार १० गते मंगलबार सम्पन्न अधिवेशनले आ.ब.२०८३/०८४ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ र वार्षिक बजेट तथा विकास कार्यक्रम (२०८३/०८४) पारित गरेको शे-फाेक्सुण्डाे गाउँपालिका डाेल्पाका प्रमुख प्रशासकीय अधिकृत सुमन ढकालले जानकारी दिएका छन। गाउँ सभा पालिका भित्र भुगाेल र आवश्यकता अनुसार सबै क्षेत्रमा समान रुपमा समेटेर नीति तथा कार्यक्रम ल्याएको पनि सदस्य सचिव समेत रहेका ढकालले बताएका छन।

प्रस्तुत बजेट तथा कार्यक्रमले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारमैत्री कार्यक्रममार्फत नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएको अध्यक्ष गुरुङले बताए। विकासको दृष्टिले पछाडि परेका वडाहरूमा सन्तुलित विकास सुनिश्चित गर्न जनसंख्या, क्षेत्रफल, विकासको अवस्था, आन्तरिक आय, पूर्वाधारको लागत तथा आवश्यकताको प्राथमिकीकरणका आधारमा स्रोत बाँडफाँडको व्यवस्था गरिएको उनले उल्लेख गरे।
गाउँपालिकाभित्र रहेका प्रशस्त पर्यटकीय गन्तव्यहरूको पहिचान, संरक्षण तथा प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने नीति बजेटमा समावेश गरिएको छ। पर्यटन विकासलाई गाउँपालिकाको आन्तरिक आय अभिवृद्धिको प्रमुख आधारका रूपमा लिइएको छ।
भौगोलिक विकटता र परनिर्भरतालाई गाउँपालिकाको प्रमुख चुनौतीका रूपमा औँल्याउँदै बजेटमा एकीकृत बस्ती निर्माण तथा “एक गाउँ–एक उत्पादन” कार्यक्रमलाई प्राथमिकता दिइएको छ। साथै कृषि तथा पशुपालन क्षेत्रका ठूला परियोजना सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरिने जनाइएको छ।
त्यसैगरी, शे–फोक्सुण्डो गाउँपालिकामा जन्मिएर देश तथा प्रदेशका विभिन्न विशिष्ट पदमा रहेका व्यक्तित्वहरूलाई समेटेर आगामी आर्थिक वर्षभित्रै शे–फोक्सुण्डो तालमा वृहत लगानी तथा सुझाव सम्मेलन आयोजना गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ।
गाउँपालिकाले प्रस्तुत गरेको बजेटले पूर्वाधार, पर्यटन, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य तथा रोजगार सिर्जनालाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया