ताजा समाचार

सीमा विवादभन्दा सहकार्यमा जोड :डोल्पा–रुकुम पूर्वबीच उच्चस्तरीय समन्वय बैठक सम्पन्न

विष्णुप्रसाद देवकोटा
डोल्पा र रुकुम पूर्व जिल्ला बीचकाे समन्वयात्मक बैठक सम्पन्न भएकाे छ । सीमा क्षेत्रका विषय, सुरक्षा चुनौती, पूर्वाधार विकास तथा अन्तरजिल्ला सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले उच्चस्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको हाे।
डोल्पा जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला समन्वय समिति प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा सम्पन्न बैठकमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारले सीमा क्षेत्रसँग जोडिएका विषयमा पर्याप्त अध्ययन, तथ्य र कानुनी आधारबिना निष्कर्षमा पुग्न नहुने बताइन्।
जडीबुटी, पर्यटन तथा आर्थिक सम्भावनाका कारण सीमा क्षेत्रको महत्व बढ्दै गएको धारणा राखिन्।दुई जिल्ला बीच खासै सिमा विवाद नरहे पनि सृजित हुने सीमा विवखद लगायत विषयलाई संवाद र सहकार्यबाट समाधान गर्नुपर्नेमा उनले जोड दिइन्।

डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु ढकाल हमालले सीमा सम्बन्धी विषयवस्तुको साझा सूची तयार गरी आगामी दिनमा थप नियमित र प्रभावकारी समन्वय बैठक सञ्चालन गरिने बताइन्।

सीमा क्षेत्रमा जनचेतना अभिवृद्धि, सूचना आदानप्रदान र सुरक्षा संयन्त्रबीच सहकार्यलाई अझ सुदृढ बनाउने आवश्यकता रहेको उनको भनाइ थियो।
अध्यक्षता गरिरहेका जिल्ला समन्वय समिति प्रमुख श्यामबहादुर रोकायाले भविष्यमा कुनै प्रकारको सीमा विवाद उत्पन्न नहोस् भन्ने उद्देश्यले समयमै सजगता अपनाउन आवश्यक रहेको बताए।
काइके गाउँपालिका र ठूलीभेरी नगरपालिकासँग जोडिएका केही क्षेत्र संवेदनशील रहेकाले तथ्य, प्रमाण र कानुनी आधारमा अघि बढ्नुपर्ने उनको धारणा थियो।
रोकायाले सीमा जोडिएका जिल्लाबीच पूर्वाधार विकास, सडक सञ्जाल विस्तार, सुरक्षा व्यवस्थापन तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गर्दै सीमा जोडिएका सबै जिल्लासँग यस्ता समन्वयात्मक बैठकलाई निरन्तरता दिइने जानकारी दिए।
बैठकमा सीमा क्षेत्रमा देखिन सक्ने सुरक्षा चुनौती, आपराधिक गतिविधि नियन्त्रण, विकास निर्माणका क्रममा देखिएका समस्या तथा अन्तरजिल्ला समन्वयका विषयमा समेत छलफल भएको थियो।

सहभागीहरूले विवादभन्दा संवाद, टकरावभन्दा सहकार्य र दाबीभन्दा तथ्यलाई आधार बनाएर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेका थिए।
बैठकले सीमा क्षेत्रका विषयलाई साझा विकास, सुरक्षा र समृद्धिसँग जोडेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रमुख डिएसपी अनिलराज गिरी नेपाली सेना सुलिगाडका सेनानी हरिश शाही रुमुम पुर्व सशस्त्र प्रहरी बलका डिएसपी संगित भट्ट डाेल्पा सशस्त् बलका प्रमुख डिएसपी दिपकराज भट्ट रुकुम पुर्वका अनुसन्धान प्रमुख सुमन भण्डारी काइके गाउँपालिका प्रमुख अंकत राना डिभिजन वन कार्यालय डाेल्पा र पुर्वी रुकुमा बनअधिकृत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया