ताजा समाचार

सम्झौताअघि नै अन्तिम चरणमा जिउँ–खोरखोला सडक

सम्झौताअघि नै अन्तिम चरणमा जिउँ–खोरखोला सडक
४ करोड ४५ लाखको योजनाले जिउँ, रंग र जुफाल जोड्दै; स्याउ किसानलाई सहज बजार पहुँच
विष्णुप्रसाद देवकोटा
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ अन्तर्गत निर्माणाधीन जिउँ–खोरखोला सडक सम्झौता अवधिअघि नै सम्पन्न हुने अवस्थामा पुगेको छ। दुई वर्षभित्र काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले समय बाँकी रहँदै सडक निर्माणलाई अन्तिम चरणमा पुर्‍याएको हो।
पूर्वाधार विकास कार्यालय डोल्पामार्फत निर्माण भइरहेको ८ किलोमिटर सडकको काम तीव्र गतिमा अघि बढिरहेको छ। सडक सम्पन्न भएपछि जिउँबाट ठूलीभेरी नगरपालिकाको जुफाल तथा त्रिपुरासुन्दरी नगरपालिका–४ रंगसम्म सहज सडक पहुँच स्थापित हुनेछ।
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको बजेटअन्तर्गत निर्माण भइरहेको उक्त सडकका लागि ४ करोड ४५ लाख रुपैयाँमा २०८१ असार १८ गते जिटी कन्स्ट्रक्सन सुर्खेतसँग सम्झौता गरिएको पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख टेक हितानले जानकारी दिए।
उनका अनुसार निर्माण कम्पनीले सडक निर्माण कार्य निकै तीव्र गतिमा अघि बढाएको छ। “कडा चट्टान भएका अधिकांश भागमा ब्रेकर प्रयोग गरेर ट्र्याक खोलिएको छ,” उनले भने, “सम्झौता अवधि बाँकी रहँदै काम अन्तिम चरणमा पुग्नु कार्यालयका लागि सकारात्मक सुरुवात हो।”
स्थानीयवासीसमेत सडक निर्माणको प्रगतिप्रति उत्साहित देखिएका छन्। त्रिपुरासुन्दरी–३ जिउँका रामबहादुर गुरुङले कृषकलाई बजारसँग जोड्ने महत्वपूर्ण पूर्वाधार बनेको भन्दै पूर्वाधार विकास कार्यालयप्रति धन्यवाद व्यक्त गरे। उनले ट्र्याक खुले पनि सडकलाई दीगो र वर्षैभरि सञ्चालनयोग्य बनाउन सरकारले थप ध्यान दिनुपर्ने बताए।
जिटी कन्स्ट्रक्सन सुर्खेतका आयोजना प्रतिनिधि बलबहादुर ओलीले ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको र केही स्थानमा ग्रेड मिलाउने काम बाँकी रहेको जानकारी दिए। “सवारीसाधन सहज रूपमा सञ्चालन हुने गरी गुणस्तरीय सडक निर्माण गरेर जिम्मा लगाउनेछौँ,” उनले भने।
सडक निर्माण सम्पन्न गर्ने सम्झौता मिति २०८३ असार मसान्त तोकिएको छ। सडक सञ्चालनमा आएपछि ‘स्याउको राजधानी’का रूपमा परिचित त्रिपुरासुन्दरी–४ रंग र जिउँका किसानहरूले आफ्ना उत्पादन जुफाल विमानस्थल हुँदै सदरमुकाम दुनैसम्म छिटो र सहज रूपमा ढुवानी गर्न सक्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया