
विष्णुप्रसाद देवकोटा।
डोल्पाको प्रसिद्ध शक्तिपीठ बाला त्रिपुरासुन्दरी मन्दिरको भगवती गाथबाट असोज ३ गते हराएको भनिएको ५५ हजार ८० रुपैयाँ असोज ५ गते मन्दिर परिसरमै फेला परेको थियाे।
फेला परेको रकम मन्दिरका पुजारी, सरोकारवाला तथा मन्दिर सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको रोहवरमा सञ्चारकर्मीको उपस्थितिमा सार्वजनिक गरिएको थियो।
सार्वजनिक गरिएकाे रकम मन्दिर सुरक्षार्थ सुरक्षाकर्मीका इन्चार्ज प्रहरी हवलदार इन्द्रबहादुर जिसिले पुजारी रामप्रसाद उपाध्यायलाई हस्तान्तरण गरेका थिए ।रकम कहाँबाट, कसरी र कुन अवस्थामा फेला पर्यो भन्ने विषय भने अझै अनुसन्धानकै क्रममा छ ।
तर, रकम फेला परेको सार्वजनिक भएको २४ घण्टा नबित्दै असोज ६ गते मन्दिरकै पुजारीबाट पुनः रकम फेला परेको खबर सार्वजनिक हुनु र त्यससम्बन्धी प्रहरी मुचुल्का भएको बताइनुले घटनालाई थप रहस्यमय बनाएको छ।
चाेरि भएकाे भनिएकाे रकम भेटाइएकाे भोलिपल्ट फेरि रकम फेला परेको खबर बाहिरियो। अब प्रश्न उठ्छ आखिर एउटै रकम दुई–दुई पटक कसरी र किन फेला पर्यो ?
घटनाको वास्तविकता के हो भन्ने निष्कर्ष अनुसन्धानले नै निकाल्ने विषय हो। तर घटनाक्रमले उठाएका प्रश्नलाई नजरअन्दाज गर्न भने मिल्दैन।
मन्दिरको मूल गाथमा मुख्य पुजारीबाहेक अरू कसैलाई बस्न नमिल्ने अवस्था हो भने त्यहाँबाट भेटी रकम कसरी हरायो ? यदि चोरी भएको हो भने चोरी गर्ने व्यक्ति गाथसम्म कसरी पुग्यो ? रकम मन्दिर परिसरमै फेला परेको हो भने त्यो कुन स्थानमा, कसरी र कसको जानकारीमा फेला पर्यो ? अनि त्यही रकम पुनः फेला परेको भनाइ कसरी आयो ?
यश सन्दर्भमा अर्को प्रश्न जन्मिन्छ कतै कुनै निर्दोष व्यक्तिलाई दोषी देखाउन नियोजित रूपमा घटना रचिएको त होइन ?
यदि याे आशंका सत्य हो भनेर निष्कर्ष निकाल्न सकिँदैन। तर अनुसन्धानको एउटा सम्भावनाका रूपमा यसलाई पनि परीक्षण गर्नुपर्ने हुन्छ। किनकि चोरी भएको भनिएको रकम मन्दिर परिसरमै फेला परेको, सुरक्षाकर्मी तथा सरोकारवालाको रोहवरमा सार्वजनिक गरिएको र त्यसको भोलिपल्ट फेरि रकम फेला परेको भनिएको घटनाक्रम सामान्य भने छैन।
मन्दिरमा विशेष निगरानीका लागि राखिएको सिसिटिभी क्यामरा र त्यसको मनिटरिङ तथा निगरानी कक्षको जिम्मेवारीमा रहेको संयन्त्रलाई पनि अनुसन्धानको महत्वपूर्ण पाटो बनाइनु पर्छ र बन्नुपर्छ नै।
सिसिटिभीको काम कसैलाई अपराधी वा दोषी करार गर्नु मात्र होइन, निर्दोष सावित गर्न पनि उत्तिकै महत्वपूर्ण प्रमाण उपलब्ध गराउनु हो।
मन्दिरको मूल गाथमा दर्शन गर्न पुगेका दर्शनार्थीहरूको दृश्य क्यामरामा कैद भइरहन्छ। त्यही फुटेजमा देखिएका व्यक्तिलाई मात्र शंकाको घेरामा राख्ने वा दोषी करार गर्ने हो भने भोलि मन्दिरमा जाने हरेक दर्शनार्थीका लागि पनि कुनै निश्चित ‘क्राइटेरिया’ बनाउनुपर्ने अवस्था आउँदैन र ?
दर्शन गर्न मन्दिर पुगेको दृश्य अपराधको प्रमाण होइन। प्रमाण त त्यस व्यक्तिले के गर्यो, कुन समयमा गर्यो, कहाँ प्रवेश गर्यो, कसरी बाहिरियो र घटनासँग उसको प्रत्यक्ष सम्बन्ध के छ भन्ने कुराले निर्धारण गर्छ।
त्यसैले सिसिटिभी फुटेजलाई समग्र घटनाक्रमसँग जोडेर हेर्न आवश्यक छ। फुटेजमा देखिएका व्यक्तिलाई मात्र होइन, मन्दिरको मूल गाथसम्म पहुँच राख्ने, भेटी रकमको व्यवस्थापन तथा सुरक्षासँग सम्बन्धित र घटनाको समयमा मन्दिरभित्र रहने सबै पक्षलाई समान रूपमा अनुसन्धानको दायरामा राखिनुपर्छ।
रह्यो कुरा चोरी भएको भनिएको रकम एउटै भएर पनि दुई–दुई पटक कसरी फेला पर्यो ? यसको जवाफ अनुसन्धानले खोज्नैपर्छ।
कसैलाई फसाउन प्रपञ्च रचिएको हो भने त्यो पनि अनुसन्धानबाट खुल्नुपर्छ। चोरी भएको हो भने चोरी गर्ने व्यक्ति पनि प्रमाणका आधारमा कानुनी दायरामा आउनुपर्छ। र कसैमाथि लागेको शंका गलत हो भने त्यही अनुसन्धानले उसलाई निर्दोष सावित गर्नुपर्छ।
किनकि अनुसन्धानको उद्देश्य दोषी खोज्नु मात्र होइन, निर्दोषलाई जोगाउनु पनि हो।
यी यावत् प्रश्नमा मन्थन गर्ने हो भने फेरि उही प्रश्न उठ्छ दूधको साक्षी बिरालोलाई राखेर दूधको रक्षा हुन्छ होला र ?
बाला त्रिपुरासुन्दरी मन्दिर हजारौँ भक्तजनको आस्था र विश्वाससँग जोडिएको शक्तिपीठ हो। यहाँको भेटी रकमसँग जोडिएको घटना रकम हराएको वा भेटिएको विषयमा मात्र सीमित छैन र हुनु हुदैन पनि । यसले मन्दिरको सुरक्षा, आन्तरिक पहुँच, निगरानी प्रणाली र अनुसन्धानको निष्पक्षतामाथि समेत प्रश्न उठाएको छ।
सिसिटिभी फुटेजमा दर्शन गर्न पुगेका व्यक्तिलाई शंकाको घेरामा राख्नुभन्दा पहिले मन्दिरको मूल गाथसम्म पहुँच राख्ने र त्यहाँको सुरक्षा तथा भेटी व्यवस्थापनमा संलग्न सबै पक्षमाथि कडा निगरानी र निष्पक्ष अनुसन्धान हुन्छ कि हुँदैन ? जनजनमा यही यक्ष प्रश्न खडा भएकाे छ ।

डोल्पा न्यूज । ६ आश्विन २०८३, मंगलवार २१:३१