डोल्पा, असार ९ — ठुलीभेरी नगरपालिकाले दुनैमा नयाँ सहर निर्माणका नाममा ठूलो रकम अनियमितता भएको भन्ने सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रसारित समाचार प्रतिगम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नगरपालिकाले सोमबार विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०८१/०८२ मा संघीय सरकारको सशर्त अनुदान अन्तर्गत दुनैमा नयाँ सहर स्थापनाका लागि २० लाख रुपैयाँ मात्र प्राप्त भएको स्पष्ट पारेको छ।
विज्ञप्तिअनुसार महालेखा परीक्षकको अन्तिम प्रतिवेदनमा दुनै नयाँ सहर निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न बुद्ध इन्जिनियरिङ कन्सल्टेन्सी कन्स्ट्रक्सन एण्ड अर्डर सप्लायर्स लाई १ करोड ९९ लाख ३ हजार ३ सय ९० रुपैयाँ भुक्तानी गरिएको उल्लेख भए पनि उक्त विवरण कम्प्युटर टाइपिङ त्रुटिका कारण समावेश भएको नगरपालिकाको दाबी छ।
नगरपालिकाका अनुसार सम्बन्धित कम्पनीलाई मिति २०८२ जेठ १२ गते १९ लाख ९० हजार ३ सय ९६ रुपैयाँ मात्र भुक्तानी गरिएको जनाएको छ ।
सामाजिक सञ्जालमा प्रसारित अनियमितता सम्बन्धी सूचना तथा दाबीहरू आधारहीन रहेको उल्लेख गर्दै नगरपालिकाले त्यस्ता भ्रामक सूचनामा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
महालेखा परीक्षकको कार्यालयमा प्रतिवेदनमा भएको टाइपिङ त्रुटि सच्याउन आवश्यक पत्राचार प्रक्रिया अघि बढाइ सकिएको विज्ञप्तिमा उल्लेख छ।
नगरपालिकाले तथ्य र प्रमाणका आधारमा आवश्यक कार्य गरिने प्रतिबद्धता व्यक्त गर्दै सञ्चार माध्यम, सरोकारवाला तथा नागरिकलाई आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार बनाउन अनुरोध गरेको छ।
यसकाे साथै कसैलाई भुक्तानी भएकाे सन्दर्भमा बुझ्न परे कार्यालय समयभित्र नगरपालिका केन्द्रमा आएर आवश्यक बैङ्क भाैचर समेत हेर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
नगरप्रमुख सुवर्ण बुढाले महालेखा परीक्षककाे कम्प्युटर शाखाकाे सानाे गल्तीले नगरपालिकामाथि नै आक्षेप लाग्नेगरी सामाजिक सन्जालमा ब्यक्त भएका टिकाटिप्पणी प्रति दुख ब्यक्त गरेका छन ।
उनले बास्तविकता नबुझेरै सामाजिक सन्नालमा मलेपकाे रिपाेटलाई मात्र आधार बनाइनु सुझबुझकाे कमजोरी भएकाे बताए ।विज्ञप्तिमा निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष बहादुर खड्काद्वारा हस्ताक्षर गरिएकाे विज्ञप्ति सामाजिक सन्जालमा चर्काे विराेध हुन थालेपछि साेमबार नगरपालिकाले जारिगरेकाे हाे ।

डोल्पा न्यूज । ९ असार २०८३, मंगलवार १३:३९