ताजा समाचार

डोल्पा पूर्णखोप दिगोपना घोषणासँगै स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार

विष्णुप्रसाद देवकोटा
डोल्पा । एक वर्षअघि कर्णाली प्रदेशमै पूर्णखोप सुनिश्चतता, निरन्तरता तथा दिगोपना घोषणामा अन्तिम स्थानमा रहेको डोल्पाले यस वर्ष उल्लेखनीय सुधार गर्दै दोस्रो स्थान हासिल गरेको छ। स्वास्थ्य क्षेत्रको यही उपलब्धिलाई संस्थागत गर्दै आइतबार डोल्पालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चतता, निरन्तरता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।
सदरमुकाम दुनैमा आयोजित विशेष समारोहमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आवश्यक सबै मापदण्ड पूरा गरेपछि जिल्लालाई पूर्णखोप सुनिश्चतता, निरन्तरता तथा दिगोपना घोषणा गरिएको हो। यो उपलब्धि केवल औपचारिक घोषणा मात्र नभई दुर्गम हिमाली जिल्लामा खोप सेवाको पहुँच, अभिलेखीकरण र स्वास्थ्यकर्मीहरूको निरन्तर सक्रियताको प्रतिफलका रूपमा हेरिएको छ।
राष्ट्रिय खोप तालिकाअनुसार १५ महिनाभित्र बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप सुनिश्चित भएको तथा १६ देखि २३ महिनासम्मका बालबालिकाको खोप अवस्थाको पहिचान र विश्लेषणका आधारमा यो घोषणा गरिन्छ। पछिल्ला वर्षहरूमा खोप कार्यक्रमको व्यवस्थापन, तथ्याङ्क अद्यावधिक र सेवा पहुँचमा सुधार आएपछि डोल्पाले उल्लेखनीय प्रगति हासिल गरेको हो।
कार्यक्रममा कर्णाली प्रदेशका प्रतिनिधि ओमप्रकाश पौडेलले डोल्पाले छोटो अवधिमै गरेको प्रगतिलाई प्रशंसनीय भन्दै आगामी वर्षहरूमा पनि यही ऊर्जा कायम राख्नुपर्ने बताए। उनले पूर्णखोप सुनिश्चतता, निरन्तरता तथा दिगोपना घोषणाको प्रमाणपत्र जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्यामबहादुर रोकायालाई हस्तान्तरण गरेका थिए।
जिल्लाका आठवटै स्थानीय तहलाई सम्मान गर्दै स्वास्थ्य प्रमुखहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। साथै जिल्लामै सबैभन्दा पहिले पूर्णखोप सुनिश्चतता, निरन्तरता तथा दिगोपना घोषणा गर्ने त्रिपुरासुन्दरी नगरपालिकालाई विशेष प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खोप समन्वय समितिका अध्यक्ष रोकायाले स्वास्थ्यकर्मीहरूको निरन्तर मेहनतकै कारण जिल्लाले सफलता हासिल गरेको उल्लेख गर्दै नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माणमा अझ जिम्मेवार बन्न आग्रह गरे।
स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डा. सिजन रावलले पूर्णखोप घोषणा हरेक वर्ष गरिने नियमित प्रक्रिया भए पनि तथ्याङ्कको शुद्धता र कुनै पनि बालबालिका खोपबाट नछुट्ने सुनिश्चितता सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए। उनले यस वर्षको उपलब्धि स्वास्थ्यकर्मी, स्थानीय तह र समुदायको साझा प्रयासको परिणाम भएको उल्लेख गरे।
जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न कार्यक्रममा स्वास्थ्यकर्मीहरूले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए। दुर्गम भौगोलिक चुनौतीबीच खोप सेवाको पहुँच विस्तार गर्दै डोल्पाले हासिल गरेको यो उपलब्धिलाई स्वास्थ्य क्षेत्रको सकारात्मक संकेतका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया