विष्णुप्रसाद देवकोटा
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा हिमाली जिल्ला डोल्पाबाट प्रतिस्पर्धा गरेका ६ जना उम्मेदवारको जमानत जफत भएको छ।जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार आवश्यक मत प्राप्त गर्न नसकेपछि उनीहरूको जमानत जफत भएको हो।
डोल्पा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा कुल १५ हजार ५०६ सदर मत खसेको थियो। तर तोकिएको न्यूनतम मत प्राप्त गर्न नसकेपछि विभिन्न दल तथा स्वतन्त्रतर्फका ६ उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका श्याम राईले जानकारी दिए ।
जमानत जफत हुने उम्मेदवारमा स्वतन्त्र उम्मेदवार ओमेन्द्र बहादुर के.सी., उज्याली नेपाल पार्टीका दिल बहादुर विष्ट, मितेरी पार्टी नेपालकी जुनु भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरि प्रसाद डाँगी, प्रगतिशील लोकतान्त्रिक पार्टीका विकास बुढा र राष्ट्रिय स्वतन्त्र पार्टीका देव सिंह ऐडी रहेका छन्।
उनीहरूले क्रमशः ५४, ११, २, ९२, २१ र १८१ मत मात्र प्राप्त गरेका थिए। कुल सदर मतको आधारमा हेर्दा उनीहरूले ०.०१ प्रतिशतदेखि १.१६ प्रतिशतसम्म मात्र मत प्राप्त गरेको देखिन्छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी प्रावधानअनुसार कुल सदर मतको न्यूनतम सीमा पूरा गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेको निर्वाचन कार्यालयले जनाएकाे छ।डाेल्पामा नाै जना उम्मेदवारले चुनावी दाैडमा भाग लिएका थिए ।

डोल्पा न्यूज । २७ फाल्गुन २०८२, बुधबार १९:०३