ताजा समाचार

फाेक्सुण्डाे तालबाट रास्वपा घाेष्णापत्र: डोल्पा भिजन ड्रोनदेखि डेटा सम्म

विष्णुप्रसाद देवकोटा

परम्परागत चुनावी वाचा भन्दा फरक ढंगले यसपटक डोल्पामा ‘डिजिटल र आपतकालीन पूर्वाधार’लाई केन्द्रमा राखेर प्रतिनिधिसभा उम्मेदवार ई. देव सिंह ऐडीले आफ्नाे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवारी दिएका ऐडीले आइतबार फाेक्सुण्डाे ताल बस्तीबाट सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा विकासको बहसलाई सूचना–प्रविधि, ड्रोन सेवा र डेटा–आधारित सुशासनतर्फ मोड्ने प्रयास देखिन्छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक दस्तावेजमा दुर्गम हिमाली भूगोल विशेषगरी माथिल्लो डोल्पाका लागि आपतकालीन स्वास्थ्य सामग्री ढुवानी र बिरामी उद्धारमा ड्रोन प्रविधि प्रयोग गर्ने प्रस्ताव राखिएको छ।

विश्वसनीय इन्टरनेट र मोबाइल सञ्जाल विस्तार, एमेच्योर रेडियोमार्फत विपद् संचार सुदृढीकरण तथा आधुनिक पूर्वसूचना प्रणाली स्थापना गर्ने योजना पनि समेटिएको छ।

प्रतिबद्धता पत्रले डोल्पालाई ‘डिजिटल साक्षर जिल्ला’ बनाउने लक्ष्य अघि सारेको छ। विद्यार्थी, ज्येष्ठ नागरिकदेखि सबै वर्गका नागरिकलाई डिजिटल सीप तालिम, निःशुल्क सार्वजनिक वाइफाइ हटस्पट, सरकारी सेवाको डिजिटलिकरण र नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना उल्लेख गरिएको छ।

रिमोट रोजगारी विस्तार, ब्लकचेन र स्मार्ट सम्झौताबारे जनचेतना अभिवृद्धि गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको छ।
स्वास्थ्यतर्फ स्थानीय स्वास्थ्य चौकीमा आधुनिक उपकरण र तालिमप्राप्त जनशक्ति व्यवस्थापन, टेलिमेडिसिन सञ्जाल विस्तार तथा नियमित स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ।

शिक्षामा विद्यालय पूर्वाधार सुधार, डिजिटल सिकाइ सामग्री, खेलकुद तथा नेतृत्व विकास कार्यक्रममार्फत युवा सशक्तीकरणमा जोड दिइएको छ।
पूर्वाधार र ऊर्जामा सडक पहुँच सुधार, सूक्ष्म जलविद्युत तथा सौर्य ऊर्जा विस्तार, स्वच्छ खानेपानी र सरसफाइ अभियानलाई प्राथमिकता दिइने उल्लेख छ। जिल्लाका नाका र खनिज सम्भावनाको पुनःअन्वेषण गरी उद्योग स्थापनाका लागि संघीय सरकारसँग पहल गरिने योजना पनि दस्तावेजमा समावेश छ।
पर्यावरणीय व्यवस्थापनतर्फ सदरमुकाम दुनै आसपास नदी–नालामा फोहोर व्यवस्थापनका लागि रिसाइक्लिङ उद्योग स्थापना गर्ने तथा शे-फोक्सुण्डो ताल जाने मार्गमा प्लास्टिक निषेध अभियान सञ्चालन गर्ने प्रस्ताव राखिएको छ।

साथै, प्रत्येक तीन वर्षमा ‘फोक्सुण्डो म्याराथन’ आयोजना गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
कृषि र पर्यटनलाई आर्थिक रूपान्तरणको आधार मान्दै आधुनिक कृषि प्रविधि, बजार पहुँच विस्तार, साना तथा कटेज उद्योग प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ। आयुर्वेदिक औषधि तथा जातीय वनस्पतिको अनुसन्धान र व्यावसायिकरण, दिगो पर्यटन र होमस्टे विकासलाई प्राथमिकता दिइने बताइएको छ।
सुशासनतर्फ डेटा–आधारित निर्णय प्रक्रिया, पारदर्शी बजेट प्रणाली, नियमित सार्वजनिक प्रतिवेदन र समुदायसँग खुला संवादमार्फत जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।

विदेशमा रहेका युवालाई स्वदेश फर्काउने वातावरण सिर्जना गर्दै ‘ब्रेन ड्रेन’ रोक्ने कार्यक्रमसमेत अघि सारिएको छ।पर्यटकीय नगरी फाेक्सुण्डाे ताल बस्तीबाट प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवार ऐडीले आधुनिक, पारदर्शी र दिगो विकासमार्फत डोल्पाका प्रत्येक परिवारलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्ने लक्ष्य लिइएको बताएका छन्।

तपाईको प्रतिक्रिया