
डोल्पा, असार ८ – ठूलीभेरी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५० करोड १३ लाख ३० हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाको १७ औँ नगरसभामा प्रस्तुत बजेटले कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सडक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ ।
नगरसभामा नगर उपप्रमुख छिरिङ टोल्मा महत ले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। स्वास्थ्य समस्याका कारण उपप्रमुख महतले वाचन गर्नुपर्ने बजेट तथा नीति कार्यक्रम भने वडा नम्बर १ का वडाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तेजेन्द्रबहादुर रोकायाले नगरसभामा प्रस्तुत गरेका थिए।
प्रस्तुत बजेटअनुसार नगरपालिकाको कुल बजेट ५० करोड १३ लाख ३० हजार रुपैयाँ रहेको छ। जसमध्ये चालुतर्फ ३३ करोड ६८ लाख ३० हजार रुपैयाँ (६७.१९ प्रतिशत) र पुँजीगततर्फ १६ करोड ४५ लाख रुपैयाँ (३२.८१ प्रतिशत) विनियोजन गरिएको छ।
कृषि उत्पादन वृद्धि, आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, शैक्षिक गुणस्तर सुधार, सुरक्षित खानेपानीको व्यवस्था तथा सडक पूर्वाधार विकासलाई आगामी आर्थिक वर्षको मुख्य प्राथमिकतामा राखिएको बजेट नीति तथा कार्यक्रममा उल्लेख छ। नगरको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता तथा स्थानीय नागरिकको जीवनस्तर उकास्ने गरी बजेट तथा कार्यक्रम तयार गरिएकोमा सर्वसम्मत रुपमा प्रस्तुत बजेट नीति तथा कार्यक्रम पारित भएकाे नगरप्रमुख सुवर्ण बुढाले घाेषणा गरेका थिए ।
नगरपालिकाले आन्तरिक राजस्व वृद्धि गर्ने लक्ष्यसहित व्यवसाय दर्ता तथा नवीकरणलाई सहज बनाउने, करको दायरा विस्तार गर्ने, नदीजन्य पदार्थको व्यवस्थापन, नगर बस सञ्चालन तथा निर्माण उपकरण परिचालनबाट समेत आम्दानी बढाउने योजना अघि सारेको छ।
नगरसभामा प्रस्तुत बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज, सञ्चारकर्मी तथा नगरवासीको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको छ।

डोल्पा न्यूज । ८ असार २०८३, सोमबार १७:२६