ताजा समाचार

चारबुँदे प्रस्तावसँगै डाेल्पाकाे काइकेमा नेकपाकाे ९९ सदस्यीय गाउँ समिति गठन

विष्णुप्रसाद देवकोटा
डोल्पा।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काइके गाउँ समिति डोल्पाले जिल्लाको विकास, सेवा प्रवाह, जलविद्युत् आयोजना र राजनीतिक प्रतिनिधित्वसँग सम्बन्धित चारबुँदे समसामयिक प्रस्ताव पारित गर्दै सरकारको ध्यानाकर्षण गराएको छ।
साउन २१ गते सम्पन्न गाउँ समितिको एकता बैठकले डोल्पाको समग्र विकाससँग जोडिएका विषयमा ठोस निर्णय गर्दै निर्माणाधीन भेरी करिडोर तथा लासिकाप–दुनै सडकको काम तीव्र, गुणस्तरीय र समयमै सम्पन्न गर्न माग गरेको छ। तोकिएको समयसीमाभित्र काम सम्पन्न नभए सम्बन्धित निकाय र स्थानीय प्रशासनले प्रभावकारी अनुगमन गर्नुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ।
बैठकले काइके गाउँपालिकाको विकट भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सडक, स्वास्थ्य, शिक्षा र सञ्चार सेवाको पहुँच विस्तार गर्न सरकारसँग विशेष पहलको माग गरेको छ। दुर्गम बस्तीहरू अझै आधारभूत सेवाबाट वञ्चित रहेकाले काइकेलाई विकासको विशेष प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ।
त्यसैगरी काइके क्षेत्रमा प्रस्तावित जलविद्युत् आयोजनाहरू शीघ्र कार्यान्वयनमा ल्याउन आग्रह गर्दै ती आयोजनाले स्थानीय रोजगारी, पूर्वाधार विकास र राजस्व अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।
बैठकले डोल्पाको राष्ट्रिय तहमा प्रतिनिधित्व कमजोर रहेको उल्लेख गर्दै जिल्लाको विकासका मुद्दा संघीय सरकारसमक्ष सशक्त रूपमा उठाउन पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला नेतृत्वलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ। पारित प्रस्तावहरू सम्बन्धित सरकारी निकाय तथा पार्टीका माथिल्ला तहमा पठाउने निर्णय पनि जिल्ला सहसंयाेजक बबीकिशोर गुरुङले बताए ।
यसैबीच, एकता बैठकले ९९ सदस्यीय काइके गाउँ समिति गठन गरेको छ। बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज मालबहादुर रोकाया प्रमुख अतिथि, केन्द्रीय सदस्य बुद्धि झाँक्री, जिल्ला सहसंयोजक बबीकिशोर गुरुङ र प्रदेश ‘क’ संयोजक धर्मलाल बुढा विशेष अतिथिका रूपमा सहभागी थिए।
बैठकले हिमबहादुर रोकायाको संयोजकत्वमा गाउँ समितिलाई पूर्णता दिँदै पालिका इन्चार्ज लोकेन्द्र राना, सहइन्चार्ज ओमकार रोकाया, सबै वडा इन्चार्ज, सहइन्चार्ज, संयोजक, सहसंयोजक तथा विभिन्न विभाग र जनवर्गीय संगठनका प्रमुख तथा उपप्रमुखहरूको जिम्मेवारी समेत टुङ्ग्याएको छ।
साथै संगठित सदस्यता नवीकरण तथा वडा एकता बैठक साउन मसान्तभित्र सबै वडामा सम्पन्न गर्ने निर्णय गरिएको नेकपाले जनाएको छ।

तपाईको प्रतिक्रिया