ताजा समाचार

डोल्पामा हुलाकमार्फत घरदैलोमै राहदानी सेवा सुरु

विष्णुप्रसाद देवकोटा

डोल्पा, असार ८ — डोल्पा जिल्लामा अब राहदानी लिन सेवाग्राहीले पुनः जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच राहदानी घरदैलोमै पुर्‍याउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै सेवा औपचारिक रूपमा सुरु गरिएको हो।
सोमबार जिल्ला प्रशासन कार्यालय डोल्पामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल र जिल्ला हुलाक कार्यालय डोल्पाका निमित्त हुलाक अधिकृत जयशंकर धिताल बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची कार्यान्वयन गर्ने क्रममा हुलाक सेवालाई ‘सरकारी सेवा केन्द्र’ का रूपमा विकास गर्दै सेवाग्राहीमैत्री सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यले उक्त समझदारी गरिएको निमित्त हुलाक अधिकृत धितालले जानकारी दिए।
यस व्यवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयबाट प्राप्त राहदानी हुलाक कार्यालयले बढीमा सात कार्यदिनभित्र सम्बन्धित सेवाग्राहीको घरमै सुरक्षित रूपमा पुर्‍याउनेछ। यसबाट राहदानी प्राप्त गर्न पुनः कार्यालय पुग्नुपर्ने झन्झट, समय र खर्चको बचत हुने अपेक्षा गरिएको छ।
सेवाको क्रममा राहदानी तथा सम्बन्धित कागजातको सुरक्षा, गोपनीयता र छिटो वितरणलाई उच्च प्राथमिकतामा राखिने जनाइएको छ। वितरण प्रक्रियासम्बन्धी अभिलेख तथा प्रतिवेदन नियमित रूपमा राखिने र कुनै समस्या देखिएमा जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयबीच समन्वय गरी तत्काल समाधान गरिने व्यवस्था मिलाइएको छ।
डोल्पामा दुई नगरपालिका र छ गाउँपालिका गरी आठ स्थानीय तह रहेका छन्। प्रशासनबाट प्राप्त राहदानी अब जिल्लाभरका सेवाग्राहीसम्म हुलाकमार्फत घरघरमा पुर्‍याइनेछ।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले यस नवीन व्यवस्थाले सार्वजनिक सेवा प्रवाहलाई थप सरल, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै “नागरिकको घरदैलोमै सरकार पुगेको अनुभूति दिलाउने उद्देश्यले सेवा सुरु गरिएको हो” भनिन्। उनले सेवालाई अझ प्रभावकारी बनाउन सबै सरोकारवाला निकाय तथा सेवाग्राहीबाट रचनात्मक सहयोगको अपेक्षा समेत गरेकी छन्।
यो सेवाको सुरुवातसँगै दुर्गम जिल्ला डोल्पाका नागरिकले राहदानी प्राप्तिका लागि भोग्दै आएको सास्ती कम हुने र सरकारी सेवा प्रवाह थप सहज तथा नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया