
विष्णुप्रसाद देवकोटा
मन्दिर केवल ढुंगा–माटोले बनेको संरचना होइन, यो भक्तजनको आस्था, विश्वास र आध्यात्मिकताको केन्द्र हो। मन्दिरमा चढाइएको भेटी रकम पनि केवल पैसा मात्र होइन भक्तजनले आफ्नो श्रद्धाले देवीको चरणमा अर्पण गरेको विश्वास हो।
बाला त्रिपुरासुन्दरी मन्दिर, त्रिपुराकोटमा भेटी रकम चोरी भएको घटना सामान्य घटना मान्न सकिँदैन।
मन्दिरका रोलक्रमवाला पुजारी रामप्रसाद उपाध्यायका अनुसार २०८३ असोज ३ गते विहान ९ बजे मन्दिरभित्र राखिएको ५५ हजार रुपैयाँ भेटी रकम चोरी भएको हो। घटनाको अनुसन्धानका लागि जिल्लाबाट प्रहरी टोली बोलाइएको र मन्दिरमा जडान गरिएको सीसीटीभी लगायतका सामग्री परीक्षण गरिने पुजारी उपाध्यायले बताएका छन्।
मुख्य मन्दिरभित्र पुजारीबाहेक अन्य व्यक्तिको प्रवेशमा प्रतिबन्ध रहेको अवस्थामा भेटी रकम चोरी हुनु सामान्य विषय पक्कै हाेइन । सुरक्षा निगरानीकै लागि सीसीटीभी जडान गरिएको अवस्थामा घटना कसरी भयो, त्यसबेला मन्दिरमा को–को पुगे, सीसीटीभीमा के देखिन्छ र रकम कसरी हरायो? भन्ने प्रश्नको तथ्यगत उत्तर खोजिनुपर्छ।
पुजारी उपाध्यायले चोरी भएको रकम पत्ता लागोस्, चोरीमा संलग्न व्यक्ति पक्राउ परोस् र रकम असुली होस् भन्ने कामनासहित छलस्थित मष्टा देवतासमक्ष विन्तीसमेत विसाएको बुझिएको छ। यो धार्मिक आस्थाको पक्ष हो। तर आस्थासँगै कानुनी अनुसन्धान र संस्थागत जवाफदेहिता पनि उत्तिकै आवश्यक छ।
बाला त्रिपुरासुन्दरी मन्दिरबाट यसअघि पनि धार्मिक महत्वको शिला हराएको थियो। यस्ता घटनाहरू दोहोरिँदै जाने हो भने प्रश्न केवल ५५ हजार रुपैयाँको रहँदैन ।मन्दिरको सुरक्षा, धार्मिक सम्पदा र भक्तजनको विश्वास कति सुरक्षित छ? भन्ने गम्भीर प्रश्न उठ्छ।
प्रहरी अनुसन्धानलाई निष्पक्ष र तथ्यमा आधारित बनाउनुपर्छ। सीसीटीभी फुटेज सुरक्षित राखेर परीक्षण गरिनुपर्छ। भेटी रकमको अभिलेख र वास्तविक मौज्दात जाँचिनुपर्छ। घटनासँग सम्बन्धित सबै पक्षसँग आवश्यक सोधपुछ हुनुपर्छ।
चोरी भएको रकम भेटियो भने पनि अनुसन्धान रोकिँदैन। रकम कसरी हरायो भन्ने प्रश्नको उत्तर खोजिनैपर्छ। दोषी पहिचान भए कानुनअनुसार कारबाही हुनुपर्छ।
किनकि मन्दिरको पवित्रता केवल पूजा, धूप–दीप र घण्टीको आवाजले जोगिँदैन।जिम्मेवारी, पारदर्शिता र सुरक्षा व्यवस्थाले पनि मन्दिरको पवित्रता जोगाउँछ।
भक्तजनले चढाएको भेटीमाथि प्रश्न उठ्नु भनेको भक्तजनको आस्थामाथि प्रश्न उठ्नु हो। त्यसैले यो घटना गुपचुप राख्ने विषय होइन, सत्यतथ्य बाहिर ल्याउने विषय हो।
आज भेटी रकम हराएको छ। भोलि धार्मिक महत्वका शिला, मूर्ति, गहना वा अन्य सम्पदा जोखिममा पर्न सक्छन्। त्यसैले समयमै सचेत हुनु आवश्यक छ।
मन्दिरको ढोका बन्द गरेर मात्र सुरक्षा हुँदैन त्यसभित्रको जिम्मेवारी पनि खुला र पारदर्शी हुनु जरुरी छ ।

डोल्पा न्यूज । ४ आश्विन २०८३, आईतवार १९:४०