विष्णुप्रसाद देवकोटा
डाेल्पा(नर्कु) ।डोल्पाको मुड्केचुला गाउँपालिकाले सरकारले दिएको सार्वजनिक बिदाबीच पनि विद्यालय सञ्चालन गरिरहेकाे छ।
पेट्रोलियम पदार्थ आपूर्तिमा देखिएको समस्यालाई मध्यनजर गर्दै सरकारले २०८२ चैत २६ गते शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे थियाे ।तर मुड्केचुला गाउँपालिकाले शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राख्दै फरक निर्णय गर्दै विद्यालय संचालन गरेकाे हाे। गाउँपालिका शिक्षा समितिले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गर्दै शैक्षिक निरन्तरतामा जोड दिएको छ।
गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख गोपाल बुढाले सबै विद्यालयहरूलाई वैशाख ८ देखि ११ गतेसम्म भर्ना अभियान सञ्चालन गरी वैशाख १५ गतेदेखि नियमित कक्षा सुरु गर्न निर्देशन दिइएकाे जानकारी दिए।
हिमाली क्षेत्रमा हिउँदका समयमा लामो बिदा हुने परिपाटीका कारण वार्षिक पाठ्यघण्टा पूरा गर्न कठिन हुने भएकाले आइतबार समेत विद्यालय सञ्चालन गर्नु परेको उनले स्पष्ट पारे।
उनका अनुसार विद्यार्थीको सिकाइ प्रभावित नहोस् र निर्धारित पाठ्यक्रम समयमै सम्पन्न होस् भन्ने उद्देश्यले यो निर्णय लिइएको हो। शिक्षा नियमावलीअनुसार वर्षमा २२० दिन विद्यालय सञ्चालन हुनुपर्ने व्यवस्था भए पनि व्यवहारमा जम्मा १९२ दिन मात्र पढाइ हुने गरेको छ। त्यसमाथि हिउँदे बिदा, मिनपचास तथा अन्य कारणले करिब ४५ दिन अतिरिक्त बिदा हुने हुँदा आइतबार पनि बिदा दिँदा वार्षिक अध्ययन अवधि झन् खुम्चिएर १३९ दिनमा सीमित हुने जोखिम देखिएको छ।
मुड्केचुला गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न नवप्रयोगसमेत अघि बढाएको छ। विद्यालय व्यवस्थापन समितिको नियमित उपस्थिति सुनिश्चित गर्न मासिक बैठक भत्ता व्यवस्था गरिएको छ भने विद्यार्थी र शिक्षकको आत्मबल अभिवृद्धिका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको छ ।

हाल गाउँपालिकामा ३ वटा माध्यमिक विद्यालय, ४ वटा आधारभूत (कक्षा १–८), ५ वटा प्राथमिक (कक्षा १–५) र ४ वटा बालविकास केन्द्र सञ्चालनमा छन्।
यद्यपि विषयगत शिक्षक दरबन्दी विद्यार्थी अनुपातअनुसार मिलान गर्नुपर्ने आवश्यकता अझै देखिएको छ।मुड्केचुलामा देखिएका सकारात्मक पहललाई अझ प्रभावकारी बनाउन विषयगत शिक्षक दरबन्दीलाई विद्यार्थी संख्याअनुसार वैज्ञानिक रूपमा पुनःव्यवस्थापन
दुर्गम विद्यालयमा शिक्षक टिकाउ बनाउन प्रोत्साहन तथा सुविधा वृद्धि डिजिटल तथा वैकल्पिक शिक्षण सामग्रीको पहुँच विस्तार नियमित शैक्षिक अनुगमन तथा मूल्यांकन प्रणाली सुदृढीकरण स्थानीय पाठ्यक्रम विकासमार्फत व्यवहारिक शिक्षामा जोड ।
विद्यालय–समुदाय सहकार्यलाई अझ संस्थागत बनाउने पहल समग्रमा, मुड्केचुला गाउँपालिकाले अपनाएका यी उपायहरूले शैक्षिक गुणस्तर सुधारतर्फ सकारात्मक संकेत देखाएका छन्। चुनौतीहरू कायम रहे पनि निरन्तर सुधार र नवप्रवर्तनमार्फत यहाँको शिक्षा क्षेत्रले उल्लेखनीय प्रगति गर्ने आधार तयार हुँदै गएको देखिन्छ।मुड्केचुलाको यो अभ्यासले दुर्गम भेगमा सीमित स्रोतबीच पनि नीतिगत लचकता र स्थानीय पहलमार्फत शिक्षा सुधार सम्भव छ भन्ने स्पष्ट सन्देश दिनेमा कुनै दुइमत छैन ।

डोल्पा न्यूज । १३ बैशाख २०८३, आईतवार ०६:४९