विष्णुप्रसाद देवकोटा
डोल्पाको काइके गाउँपालिकाले काठमाडौं नेपालगञ्जमा घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ।सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले उक्त घुम्ती सेवा शिविर संचालन गर्ने भएकाे हाे ।
गाउँपालिकाले मिति २०८३ साउन १९ गते सार्वजनिक गरेको सूचनाअनुसार, गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता लिइरहेका लाभग्राहीलाई गाउँसम्म पुग्नुपर्ने झन्झट हटाउँदै भत्ता नवीकरण प्रक्रिया सरल बनाउन घुम्ती शिविर आयोजना गर्न लागिएको हो।
सूचनाअनुसार काठमाडौंमा साउन २३ गतेदेखि २६ गतेसम्म छेगो एकता समाज भवन, रामहिटी मा शिविर सञ्चालन हुनेछ। त्यस्तै, साउन २७ गते नेपालगञ्जस्थित राँझा एयरपोर्ट गेटछेउ मा पनि एकदिने घुम्ती शिविर सञ्चालन गरिनेछ।
गाउँपालिकाले सम्बन्धित सबै लाभग्राहीलाई निर्धारित मिति र स्थानमा उपस्थित भई सामाजिक सुरक्षा भत्ता नवीकरण गराउन आग्रह गरेको छ।
सेवा लिन आउँदा आवश्यक परिचय खुल्ने कागजात तथा अन्य आवश्यक विवरण अनिवार्य रूपमा साथमा ल्याउन पनि अनुरोध गरिएको पालिका अध्यक्ष अंगत राना मगरले बताए।
नेपालगञ्जमा सञ्चालन हुने शिविरका लागि वडा अध्यक्ष ओमकार रोकाया (मो. ९८४६१३६२१३) र वडा सचिव वसन्त के.सी. (मो. ९८६८०३४५४३) लाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको गाउँपालिका अध्यक्ष राना मगरले जानकारी दिए ।
काइके गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. रामेश कुमार यादवद्वारा जारी सूचनामा दुर्गम क्षेत्रका नागरिकको सेवा पहुँचलाई सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गर्न लागिएको उल्लेख गरिएको छ।

डोल्पा न्यूज । १९ श्रावण २०८३, मंगलवार १४:२१