ताजा समाचार

त्रिपुरासुन्दरीका करार स्वास्थ्यकर्मीद्वारा सेवा–सुविधा र पदपूर्तिको माग गर्दै ज्ञापनपत्र

विष्णुप्रसाद देवकोटा
डोल्पा, 
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा विभिन्न तह तथा पदका स्वीकृत दरबन्दी लामो समयदेखि रिक्त रहँदा स्वास्थ्य सेवा प्रभावित भएको भन्दै करार सेवामा कार्यरत स्वास्थ्यकर्मीहरूले तत्काल पदपूर्ति तथा सेवा–सुविधा सुनिश्चित गर्न माग गरेका छन्।
करार स्वास्थ्यकर्मीहरूको तर्फबाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु कुजारलाई ज्ञापनपत्र बुझाउँदै स्वास्थ्य संस्थाहरूमा रिक्त रहेका दरबन्दीहरूमा तत्काल स्थायी पदपूर्तिको प्रक्रिया अघि बढाउन तथा स्थायी कर्मचारी नियुक्ति नहुन्जेल करार सेवामार्फत आवश्यक जनशक्ति व्यवस्थापन गर्न आग्रह गरिएको हो।
ज्ञापनपत्रमा हाल स्वास्थ्य संस्थाहरूमा कार्यरत करार स्वास्थ्यकर्मीहरूले सीमित जनशक्तिका बीच दिनरात खटिएर पालिकाले तोकेको आचारसंहिता तथा कानुनी व्यवस्थाअनुसार स्वास्थ्य सेवा प्रदान गरिरहेको उल्लेख गरिएको छ। यस्ता कर्मचारीहरूलाई संविधान, प्रचलित कानुन, सर्वोच्च अदालतका आदेश तथा संघीय र प्रदेश सरकारका विभिन्न निर्णयबमोजिम पाउनुपर्ने सेवा–सुविधाबाट वञ्चित गर्न नहुने माग गरिएको छ।
करार स्वास्थ्यकर्मीहरूले नेपाल संविधानको धारा १८ ले प्रत्याभूत गरेको समानताको हक, धारा ३३ को रोजगारीसम्बन्धी हक तथा धारा ३४ को श्रमसम्बन्धी हकको व्यवस्था स्मरण गराउँदै श्रम ऐन, २०७४ ले समेत न्यूनतम पारिश्रमिक र सुविधाबाट कुनै पनि श्रमिकलाई वञ्चित गर्न नपाइने स्पष्ट व्यवस्था गरेको उल्लेख गरेका छन्।
त्यसैगरी निजामती सेवा ऐन, २०४९, नेपाल स्वास्थ्य सेवा ऐन, २०५३, कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन, २०७८ तथा कर्णाली प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१ लगायतका कानुनी व्यवस्थाले करार सेवामा कार्यरत कर्मचारीलाई कानुनबमोजिमको तलब, पोशाक भत्ता, चाडपर्व खर्च, महँगी भत्ता तथा अन्य सेवा–सुविधा उपलब्ध गराउनुपर्ने आधार प्रस्तुत गरिएको छ।
ज्ञापनपत्रमार्फत २०८३ साउन १ गतेदेखि लागू हुने गरी करार सेवामा कार्यरत स्वास्थ्यकर्मीहरूको नियुक्तिपत्र नवीकरण (अध्यावधिक) गर्न तथा कानुनअनुसारका सम्पूर्ण सेवा–सुविधा उपलब्ध गराउन समेत माग गरिएको छ।
करार सेवामा अहेब पदमा कार्यरत कबिप्रसाद उपाध्यायका अनुसार स्वास्थ्यकर्मीहरूले उठाएका मागहरू स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने र स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्ने उद्देश्यले अघि सारिएका हुन्। उनले नगरपालिकाले मागप्रति सकारात्मक पहल गर्ने अपेक्षा गरिएको बताए।

तपाईको प्रतिक्रिया