विष्णुप्रसाद देवकोटा
डोल्पा ।बलाङ्ग्रा
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–११ स्थित बलाङ्ग्रा चौंरी फार्म, जसले तीन दशकभन्दा बढी समयदेखि आफ्नो अस्तित्व गुमाएको थियो, पुनः सञ्चालन गर्ने विषयमा यतिखेर बहस सुरु भएको छ।
कुनै समय स्थानीय रोजगारी, पशुपालन विकास र राज्यको राजस्व संकलनमा महत्वपूर्ण योगदान पुर्याएको यो सरकारी फार्मलाई पुनर्जीवित गर्न स्थानीयदेखि सरोकारवाला निकायसम्म एकमत देखिएका छन्।
वि.सं. २०३६ सालमा तत्कालीन श्री ५ को सरकारले स्थापना गरेको बलाङ्ग्रा चौंरी फार्म वि.सं. २०४८ सम्म सञ्चालनमा थियो।
त्यसपछि २०४९ सालतिर फार्ममा रहेका १५० भन्दा बढी याक तथा चौंरीसहित सम्पूर्ण सम्पत्ति लिलाम गरिएपछि फार्म बन्द भएको थियो।
त्यसयता ३५ वर्षसम्म निष्क्रिय रहेको फार्मलाई पुनः सञ्चालनमा ल्याउने विषय अहिले डोल्पामा प्रमुख बहसको विषय बनेको छ।
स्थानीयवासीले फार्म पुनः सञ्चालनको माग गर्दै आएपछि राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय, हरिहरभवन ललितपुरले डोल्पामै पुगेर “याक–चौंरी संरक्षण, प्रवर्द्धन तथा याक चिज उत्पादनको व्यवसायीकरण” विषयक नीति संवाद कार्यक्रम आयोजना गरेको थियो। सोही कार्यक्रमपछि बलाङ्ग्रा फार्म पुनरुत्थानको बहस थप सशक्त बनेको हो।
संवाद कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकाया, उपप्रमुख देवी घर्ती, पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाका प्रमुख डा. साजन रोकाया, दुग्ध विकास संस्थान नेपालगञ्जका प्रमुख विजयसिंह कुर्मी, चौंरी संरक्षण तथा प्रवर्द्धन कार्यक्रमका वरिष्ठ पशु विकास अधिकृत केशव भट्ट, पशु सेवा कार्यालय डोल्पाका पूर्व प्रमुख चन्द्रलाल धराला लगायत स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रममा नगरप्रमुख जनचन्द्र रोकाया र उपप्रमुख देवी घर्तीले ३५ वर्षअघि बन्द भएको बलाङ्ग्रा चौंरी फार्म पुनः सञ्चालनका लागि स्थानीय सरकारले पटक–पटक प्रदेश तथा संघीय सरकारसँग पहल गर्दै आएको बताए।
उनीहरूका अनुसार फार्म पुनः सञ्चालनका लागि उच्चस्तरीय स्थलगत अध्ययन तथा सम्भाव्यता मूल्यांकनसमेत भइसकेको छ।
उनीहरूले फार्म सञ्चालनमा आए बन्तडी गाउँसहित आसपासका बस्तीका स्थानीयका लागि रोजगारीका अवसर सिर्जना हुने, युवालाई उत्पादनमुखी क्षेत्रमा आकर्षित गर्न सकिने तथा स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरे।
दुग्ध विकास संस्थान नेपालगञ्जका प्रमुख विजयसिंह कुर्मीले डोल्पाजस्तो सम्भावनायुक्त जिल्लामा दूध, दही र चिजजस्ता दुग्धजन्य वस्तु बाहिरबाट आयात हुनुपर्ने अवस्था विडम्बनापूर्ण भएको बताए।
डोल्पामा याक तथा चौंरी पालनका लागि पर्याप्त चरन क्षेत्र, खर्क र प्राकृतिक घाँसे मैदान उपलब्ध भएकाले व्यावसायिक उत्पादन विस्तार गर्न सकिने उनको भनाइ थियो।
“डोल्पामा उत्पादन हुने चिज तथा अन्य दुग्धजन्य वस्तुको बजार सुनिश्चित छ।
उत्पादन बढे दुग्ध विकास संस्थानले बजारीकरणको ग्यारेन्टी गर्न तयार छ,” उनले भने।
पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाका वर्तमान प्रमुख डा. साजन रोकाया तथा पूर्व प्रमुख चन्द्रलाल धरालाले डोल्पाको हिमाली वातावरण याक तथा चौंरी पालनका लागि अत्यन्त अनुकूल रहेको बताए।
पछिल्ला वर्षहरूमा किसानहरू चौंरी पालनतर्फ आकर्षित हुँदै गएको, सडक पहुँच र पर्यटन विस्तारले बजारको सम्भावना बढाएको तथा चौंरी पालनसँगै प्रशोधन उद्योग स्थापना गर्न सके आर्थिक लाभ अझ बढी हुने उनीहरूको धारणा थियो।
उनीहरूका अनुसार डोल्पोबुद्ध, शे–फोक्सुण्डो र जगदुल्ला क्षेत्रमा हाल करिब तीन हजार चौंरी रहेका छन्। विगतमा बलाङ्ग्रा फार्मले विभिन्न प्रजातिका घाँस उत्पादन गरी खुमलटारसम्म निर्यात गर्ने गरेको इतिहाससमेत रहेको छ।
चौंरी संरक्षण तथा प्रवर्द्धन कार्यक्रमका वरिष्ठ पशु विकास अधिकृत केशव भट्टले बलाङ्ग्रा फार्मलाई पुनः सञ्चालनमा ल्याउने तयारी आगामी आर्थिक वर्षभित्रै अघि बढाउने लक्ष्य रहेको जानकारी दिए।
उनका अनुसार पशुपालनमा हुने कुल खर्चमध्ये करिब ७० प्रतिशत हिस्सा आहारामा खर्च हुने भए पनि डोल्पामा पर्याप्त प्राकृतिक चरन क्षेत्र भएकाले यो लागत न्यून हुने सम्भावना छ।
“गोठालो व्यवस्थापन गर्न सके डोल्पामा चौंरी पालन अत्यन्त सहज र लाभदायक बन्न सक्छ,” उनले भने, “फार्म पुनरुत्थानसँगै चिज, घ्यू तथा अन्य दुग्धजन्य परिकार उत्पादन गर्ने उद्योग स्थापना गर्न सकिन्छ। याक–चौंरीबाट बन्ने परम्परागत उत्पादनको अन्तर्राष्ट्रिय बजारसमेत विस्तार हुँदै गएको छ।”
कार्यक्रममा सहभागी अधिकांश स्थानीयवासी तथा महिलाहरूले बलाङ्ग्रा चौंरी फार्मले विगतमा गाउँलाई आत्मनिर्भर बनाउन, सीप विकास गर्न र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे।
फार्म बन्द भएपछि स्थानीयले आर्थिक तथा सामाजिक रूपमा ठूलो क्षति बेहोर्नुपरेको भन्दै उनीहरूले नयाँ पुस्तालाई स्वावलम्बी बनाउने माध्यमका रूपमा फार्म पुनः सञ्चालन गर्नुपर्ने माग गरे।
स्थानीयहरूको विश्वास छ—यदि बलाङ्ग्रा चौंरी फार्म पुनः सञ्चालनमा आयो भने यसले केवल एउटा पुरानो सरकारी संरचनाको पुनर्जागरण मात्र गर्ने छैन, डोल्पाको हिमाली अर्थतन्त्र, रोजगारी र परम्परागत पशुपालन संस्कृतिलाई समेत नयाँ जीवन दिनेछ।

डोल्पा न्यूज । ५ असार २०८३, शुक्रबार ०८:१५