ताजा समाचार
निकुञ्जभित्र एउटै रसिदले सबै पाटनमा प्रवेश, तर वन र निकुञ्ज क्षेत्र फरक–फरक शुल्क व्यवस्था कायम

‘एकै क्षेत्रमा एउटै रसिद’ लागू : डोल्पाका यार्सापाटन जेठ १० देखि खुल्ने

विष्णुप्रसाद देवकोटा
डोल्पा ।बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बा संकलनका लागि डोल्पाका सबै यार्सापाटन आगामी जेठ १० गतेदेखि एकैसाथ खुला गरिने भएका छन्। मंगलबार सदरमुकाम दुनैमा बसेको सर्वपक्षीय–सर्वदलीय बैठकले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका सम्पूर्ण पाटन एक महिनाका लागि खुला गर्ने निर्णय गरेको हो।
यसपटकको निर्णयले विगतदेखि संकलकले भोग्दै आएको एउटै क्षेत्रभित्र बारम्बार रसिद काट्नुपर्ने समस्या हटाएको छ। अब निकुञ्ज क्षेत्रभित्रका विभिन्न मध्यवर्ती उपभोक्ता समितिमध्ये कुनै एक समितिले काटेको रसिदले निकुञ्जभित्रका सबै पाटनमा संकलन गर्न पाइनेछ। त्यसैगरी डिभिजन वन कार्यालय अन्तर्गतका सामुदायिक वन समितिले काटेको रसिदले वन क्षेत्रभित्रका जुनसुकै पाटनमा प्रवेश गर्न पाइने व्यवस्था गरिएको छ।
तर निकुञ्ज र वन क्षेत्रबीच भने छुट्टाछुट्टै शुल्क व्यवस्था कायम रहनेछ। अर्थात् निकुञ्ज क्षेत्रमा काटिएको रसिद लिएर वन कार्यालय अन्तर्गतका पाटनमा जाँदा पुनः रसिद काट्नुपर्नेछ भने वन क्षेत्रको रसिद लिएर निकुञ्ज क्षेत्रमा प्रवेश गर्दा पनि अलग्गै रसिद अनिवार्य हुने निर्णय गरिएको छ।
जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाले जिल्लास्तरबाट एकीकृत व्यवस्थापन लागू गरिएको जानकारी दिँदै विगतको जस्तो एउटै क्षेत्रमा दोहोरो रसिद काट्ने प्रवृत्ति अन्त्य गरिएको बताए।
उनका अनुसार पाटन खुल्नुअघि, खुल्ने दिन र बीच–बीचमा सुरक्षा निकायसहित सरोकारवाला निकायले संयुक्त अनुगमन गर्नेछन्। साथै जेठ अन्तिममा विभिन्न समितिले काटेको रसिद, आम्दानी र खर्चको सार्वजनिक समीक्षा गरिनेछ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख विज्ञान सेनका अनुसार यस वर्ष गत वर्षभन्दा केही ढिलो गरी पाटन खुला गर्ने निर्णय गरिएको हो।
“एक महिनाका लागि सम्पूर्ण पाटन खुला गर्ने सर्वपक्षीय सहमति भएको छ,” उनले भने।निकुञ्जले यार्सागुम्बा संकलनकर्ताका लागि तीन प्रकारका प्रवेश शुल्क निर्धारण गरेको छ।

मध्यवर्ती क्षेत्रभित्रका स्थानीयका लागि ‘क’ वर्ग अन्तर्गत पाँच सय रुपैयाँ, डोल्पा जिल्लाभित्रका नागरिकका लागि ‘ख’ वर्ग अन्तर्गत दुई हजार रुपैयाँ र जिल्ला बाहिरबाट आउनेका लागि ‘ग’ वर्ग अन्तर्गत तीन हजार रुपैयाँ शुल्क तोकिएको छ।
परिचयपत्र नदेखाए स्थानीयले पनि ‘ग’ वर्गकै शुल्क तिर्नुपर्ने निकुञ्जले जनाएको छ। यार्सा संकलनका लागि जेठ ५, ६ र ७ गतेभित्र सम्बन्धित क्षेत्रको रसिद काटिसक्नुपर्ने व्यवस्था गरिएको छ।
बैठकले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई यार्सापाटन प्रवेशमा रोक लगाउने निर्णय समेत गरेको छ। आवश्यकताअनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग परिचालन गरिनेछ।
निकुञ्ज प्रशासनका अनुसार पाटन क्षेत्रमा गस्तीका लागि सुरक्षाकर्मी परिचालन भइसकेका छन्। तोकिएको समयभन्दा अगावै पाटन क्षेत्रमा पुगे कारबाही गरिने चेतावनी दिइएको छ।
हरेक वर्ष यार्सागुम्बा सिजन सुरु भएसँगै डोल्पा, रुकुम पश्चिम, जाजरकोटलगायत जिल्लाबाट हजारौं सर्वसाधारण जोखिमपूर्ण हिमाली यात्रा गर्दै डोल्पाका उच्च पाटनतर्फ उक्लिने गर्छन्।

कतिपय गाउँ त यामभरि लगभग खाली हुने अवस्था रहने गरेको छ।मंगलवार जिल्ला समन्वय समितिकाे सभाहलमा बसेकाे सर्वपक्षीय सर्वदलीय बैठकमा निकुञ्ज वन क्षेत्रका र डिभिजन वन कार्यालय अन्तर्गतका विभिन्न समितिका पदाधिकारी जिल्लास्थित सुरक्षा निकायका प्रमुख र विभिन्न सराेकारवालाहरुकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया