ताजा समाचार

डोल्पामा विपद् व्यवस्थापन बैठक : भोटेकोशीको पाठबाट जोखिम न्यूनीकरणमा जोड

विष्णुप्रसाद देवकोटा
डोल्पा । भदौमा रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोले पुर्‍याएको जनधन तथा भौतिक क्षतिबाट पाठ सिक्दै डोल्पामा सम्भावित विपद्को सामना गर्न पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारीलाई प्राथमिकता दिने निर्णय गरेको हो।
बैठकले विपद् प्रभावितलाई राहत उपलब्ध गराउनेदेखि सम्भावित बाढी, पहिरो, भूकम्पलगायतका विपद्बाट हुन सक्ने जनधन तथा भौतिक क्षति न्यूनीकरणका लागि तयार पारिएको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ अनुमोदन गरेको छ।
भौगोलिक रूपमा विकट र प्राकृतिक विपद्को जोखिममा रहेको डोल्पामा पनि भोटेकोशीमा जस्तो विपद् नआउला भन्न नसकिने भएकाले सम्भावित जोखिमको पूर्वानुमान, आवश्यक स्रोतसाधनको व्यवस्थापन, उद्धार तथा राहतको तयारी र सम्बन्धित निकायको जिम्मेवारी स्पष्ट बनाएर अघि बढ्नुपर्नेमा बैठकले जोड दिएको छ।
बैठकले १० जना विपद् प्रभावितलाई राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

ठुलीभेरी नगरपालिका–११ का सुस्मा थापा र कर्णप्रसाद कार्कीका घरका पर्खाल चर्किएर बसोबास जोखिममा परेको, ठुलीभेरी–८ का टेकबहादुर डाँगीको घर अविरल वर्षाका कारण भत्किएको तथा ठुलीभेरी–२ का मोतिप्रसाद रोकायाको घर पहिरोबाट क्षतिग्रस्त भएको विवरण बैठकमा प्रस्तुत गरिएको थियो।
त्यस्तै, ठुलीभेरी–२ स्थित महादेव आधारभूत विद्यालयको खेलमैदानको पर्खाल भत्किएको, ठुलीभेरी–३ का अर्जुनबहादुर शाहीको घर वर्षाका कारण भत्किएको तथा ठुलीभेरी–१० परिलाका दिनेश विक, हिरालाल कार्की, घनश्याम विक र हिमालप्रसाद महतको घर भूकम्पका कारण क्षतिग्रस्त भएको विवरणसमेत बैठकमा प्रस्तुत गरिएको थियो।
संग्राम शार्दुल गुल्म, सुलिगाड डोल्पाले तयार पारेको विपद्सम्बन्धी प्रस्तुतीकरणसमेत बैठकबाट अनुमोदन गरिएको छ। गुल्मका मेजर नरेश विष्टले जिल्लामा हुन सक्ने सम्भावित विपद्को जोखिम, पूर्वतयारी, प्रतिकार्य तथा विपद्का समयमा विभिन्न निकायले निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रस्तुतीकरण गरेका थिए।
जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाले विपद् व्यवस्थापन सबै तहका सरकार र सम्बन्धित निकायको साझा जिम्मेवारी भएको बताए। स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले विपद्का समयमा स्थानीय तहको भूमिका अझ महत्वपूर्ण हुने भन्दै उनले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिए।
जिल्ला विपद् व्यवस्थापन समितिकी अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले विपद् आउनुअघि नै आवश्यक तयारी, स्रोत व्यवस्थापन र जिम्मेवारी स्पष्ट गर्न सके क्षति न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने बताइन्। सरकारी निकाय, सुरक्षा संयन्त्र, स्थानीय तह तथा अन्य सरोकारवाला पक्षबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।
प्रहरी नायव उपरीक्षक अनिलराज गिरीले रसुवाको भोटेकोशीमा जस्तो विपद्का कारण जनधनसँगै भौतिक संरचनामा ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था डोल्पामा आउन नदिन पूर्वसतर्कता र पूर्वतयारीमा जोड दिनुपर्ने बताए। डोल्पाका अधिकांश बस्तीसमेत विभिन्न किसिमका जोखिममा रहेको उल्लेख गर्दै उनले वर्षायाममा जिल्लामा भएका विपद्का घटनाको समीक्षा, त्यसबाट प्राप्त सिकाइ र आगामी दिनको पूर्वतयारीमा सबै निकाय एकजुट भएर लाग्नुपर्ने बताए।
बैठकमा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, तीनै तहका सुरक्षा अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारी, उद्योग वाणिज्य संघका अध्यक्षलगायत सरोकारवालाको सहभागिता थियो।
भोटेकोशीको विपद्ले दिएको पछिल्लो पाठलाई दृष्टिगत गर्दै डोल्पाले सम्भावित जोखिमलाई विपद्पछि उद्धार र राहतमा मात्र सीमित नराखी विपद् आउनुअघि नै तयारी, जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यको संरचना बलियो बनाउने दिशामा अघि बढ्नुपर्नेमा बैठकले जोड दिएको छ।

तपाईको प्रतिक्रिया