
डोल्पा । डोल्पामा आर्थिक वर्ष २०८२/०८३ मा स्वास्थ्य क्षेत्रमा सम्पादित कार्यक्रम तथा कार्यप्रगतिको समीक्षा गर्दै मध्य डोल्पाको त्रिपुरासुन्दरी र उपल्लो डोल्पाको धोमा अस्पताल निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।
दुई दिनसम्म सञ्चालन भएको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा जिल्लाका आठवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूले आ–आफ्नो पालिकामा सम्पादित स्वास्थ्य कार्यक्रम, कार्यप्रगति, सेवा प्रवाहको अवस्था तथा आगामी योजनाका विषयमा प्रस्तुति दिएका थिए।
कार्यक्रममा तथ्यांक प्रमुख आशिष् सिंथानीले जिल्लाको समग्र स्वास्थ्य अवस्था, आ.व. २०८२/०८३ मा सम्पादित कार्यक्रम तथा कार्यप्रगति, जनस्वास्थ्य र जिल्ला अस्पतालमा कार्यरत जनशक्तिको तथ्यांक तथा स्वास्थ्य सेवा प्रवाहको अवस्थाबारे प्रस्तुति गरेका थिए। तर डोल्पामा अझै प्राथमिक स्वास्थ्य केन्द्र नरहेको तथा केही क्षेत्रमा स्वास्थ्य सेवा प्रवाहमा समस्या रहेको तथ्यांक प्रस्तुत गरिएको थियो।
विशेषगरी काइके र मुड्केचुलामा घरमै सुत्केरी गराउने क्रम भने अझै कायम रहेको विषयलाई स्वास्थ्य सेवाको प्रमुख चुनौतीका रूपमा औंल्याइएको छ।
कार्यक्रममा बोल्दै आठौं तहका विशेषज्ञ डा. सिजन रावलले मध्य डोल्पाको त्रिपुरासुन्दरी र उपल्लो डोल्पाको धोमा अस्पताल निर्माण गर्न आवश्यक रहेकोमा जोड दिए। भौगोलिक विकटता र नागरिकको स्वास्थ्य सेवामा पहुँचलाई ध्यानमा राखेर जिल्लाको मध्य तथा उपल्लो क्षेत्रमा अस्पतालको आवश्यकता रहेको उनको भनाइ थियो।आठौं तहका विशेषज्ञ डाक्टर रावलकाे सरुवा भइसकेकाले जिल्लामा अब कस्ताे दर्जा र विशेषज्ञ चिकित्सक सरकारले पठनउने हाे यसमा भने सम्बन्धित निकायले समयमै बुझ्न जरुरी छ ।विशेषज्ञ डाक्टरकाे सरुवाले जिल्ला अस्पतालमा रावल जत्तिकै अनुभवी चिकित्सककाे अभाव भने खट्किरहने अवस्था सृजना भएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाले स्थानीय तहमा अस्पताल हुनु अनिवार्य रहेको बताए। उनले स्वास्थ्य संस्थाका भवन निर्माणसँगै आवश्यक जनशक्ति, उपकरण र पूर्वाधारको पर्याप्ततामा ध्यान दिनुपर्ने उल्लेख गरे।
“भवन बन्नु मात्र सफलताको आधार होइन, त्यहाँ आवश्यक उपकरण यथेष्ट मात्रामा छन् कि छैनन् भन्ने कुरा महत्वपूर्ण हुन्छ,” रोकायाले भने।तीन तहका सरकार मध्ये सबैभन्दा बलियाे र नजिककाे सरकार नै स्थानीय तह भएकाले नागरिकको स्वास्थ्य सेवाका बारेमा विशेष ध्यान दिनु पर्नेमा जाेड दिए ।
स्थानीय तहहरूले आवश्यकता मूल्यांकनभन्दा अझ बढी औषधि खरिद गरि अभाव नखट्किने र अनावश्यक मौज्दात पनि नरहने गरी योजना निर्माण गर्नुपर्ने बताए। स्वास्थ्य संस्थाका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने र जिल्ला अस्पतालसम्म जाने स्थायी बाटो निर्माणको प्रक्रिया अघि बढिरहेको समेत उनले जानकारी दिए।

गोष्ठीमा जिल्लाको स्वास्थ्य सेवाको पहुँच विस्तार, आवश्यक पूर्वाधार तथा उपकरण, जनशक्ति व्यवस्थापन र सेवा प्रवाहमा देखिएका समस्याका विषयमा छलफल गरिएको थियो।
यसै अवसरमा जिल्लाको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै छार्काताङसोङ गाउँपालिकालाई पुरस्कृत गरिएको थियो। साथै जिल्लाका आठवटै स्थानीय तहलाई सम्मानपत्र प्रदान गरिएको थियो।
दुई दिनसम्म चलेको समीक्षा गोष्ठीले विगत वर्षका स्वास्थ्य कार्यक्रमको उपलब्धि र चुनौतीको समीक्षा गर्दै डोल्पाको भौगोलिक आवश्यकताअनुसार अस्पताल, जनशक्ति, उपकरण र पूर्वाधार विकासलाई आगामी योजनाको केन्द्रमा राख्नुपर्ने निष्कर्षलाई समेत अघि सारेको छ।

डोल्पा न्यूज । ३१ भाद्र २०८३, बुधबार १५:४०