विष्णुप्रसाद देवकोटा
डोल्पा ।हिमाली क्षेत्रको बहुमूल्य प्राकृतिक सम्पदाका रूपमा परिचित सिबक्थोर्न (डालेचुक)काे जुस उत्पादन शुरु गरिएकाे छ ।सिबक्थ्राेनलाई संरक्षण, प्रवर्द्धन र आर्थिक समृद्धिको आधार बनाउने उद्देश्यसहित डोल्पोबुद्ध गाउँपालिकाले स्थानीयस्तरमै जुस उत्पादन कार्य सुरु गरेको हाे।
समुद्री सतहदेखि करिब ४ हजारदेखि ४ हजार ५ सय मिटर उचाइसम्मका नदी तथा खोलाका किनारमा प्राकृतिक रूपमा पाइने सिबक्थोर्न डोल्पाको उच्च हिमाली भेगको महत्वपूर्ण वनस्पति हो। भिटामिन ‘सी’, ओमेगा–३, ६, ७ र ९ लगायतका पोषक तत्वले भरिपूर्ण भएकाले यसलाई “हिमालयन सुपर फ्रुट”धर्तीको अमृत तथा “सञ्जीवनी बुटी” का रूपमा समेत चिनिन्छ।
महत्वपूर्ण औषधीय तथा पोषणयुक्त फल भए पनि यसको उपयोग, संरक्षण र व्यावसायीकरणमा पर्याप्त ध्यान नपुग्दा स्थानीय समुदायले अपेक्षित लाभ लिन सकेका थिएनन्। याेअवस्थालाई परिवर्तन गर्ने लक्ष्यसहित गाउँपालिकाले वडा नम्बर १ धोमा सिबक्थोर्न प्रशोधन तथा उत्पादन केन्द्र स्थापना गरी जुस उत्पादनको सुरुवात गरेको गाउँपालिकाले जनाएकाे छ।
डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर थापाका अनुसार स्थानीय स्तरमै प्रशोधन उद्योग स्थापना गरेर सिबक्थोर्नलाई बजारसँग जोड्ने प्रयास गरिएको छ। स्थानीय उत्पादनको मूल्य अभिवृद्धि गर्दै किसान तथा स्थानीय बासिन्दालाई प्रत्यक्ष आर्थिक लाभ पुग्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाले याे जुुस उत्पादन कार्यक्रमलाई प्रारम्भिक चरणमा पाइलट परियोजनाका रूपमा सञ्चालन गरेको जनाएको छ। सिबक्थोर्नको संरक्षण, व्यावसायिक खेती विस्तार, प्रशोधन उद्योगको क्षमता वृद्धि तथा बजार प्रवर्द्धनमार्फत रोजगारी सिर्जना र आयआर्जन वृद्धि गर्ने लक्ष्य उद्याेगकाे छ।
स्थानीय स्रोत र सम्भावनाको दिगो उपयोग गर्दै सिबक्थोर्नलाई डोल्पाको नयाँ पहिचान तथा आर्थिक समृद्धिको आधार बनाउने गाउँपालिकाको योजना छ। “सिबक्थोर्न संरक्षण गरौं, स्वस्थ जीवन र आयआर्जन बढाऔं” भन्ने नारासहित उत्पादन, व्यवसायीकरण र बजारीकरणको तयारी तीव्र बनाइएको छ।
सिबक्थोर्नको पोषण तथा औषधीय महत्वबारे जानकारी बढ्दै गएसँगै स्थानीय बासिन्दामा यसको उत्पादन, संरक्षण र प्रशोधनप्रति चासोसमेत बढ्न समेत थालेको छ। हिमाली क्षेत्रमा सहज रूपमा उपलब्ध यो प्राकृतिक सम्पदाको व्यावसायिक उपयोगले डोल्पाको स्थानीय अर्थतन्त्रमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास गरिएको छ।
डोल्पोबुद्धले सुरु गर्यो हिमाली ‘सुपर फ्रुट’ सिबक्थोर्नबाट आर्थिक समृद्धिको खोजी
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ३ असार २०८३, बुधबार १४:४७