विष्णुप्रसाद देवकोटा
डोल्पा । रूकुम पश्चिमको त्रिवेणीबाट डोल्पाको मुड्केचुला गाउँपालिका अन्तर्गत खर्कतर्फ जाँदै गरेको जीप दुर्घटनामा पर्दा १२ जना घाइते भएका छन्।
कर्णाली प्रदेश ०२–००१ च ०४२८ नम्बरको जीप मुड्केचुला गाउँपालिका–१ भोटाऔल क्षेत्रमा एकाएक ब्रेक फेल भई दुर्घटनामा परेको हो। दुर्घटनामा घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ।
गम्भीर घाइतेहरुलाई थप उपचारका लागि रूकुम पश्चिमको चौरजहारीतर्फ पठाइएको मुड्केचुला गाउँपालिका–१ का वडाध्यक्ष पवन बुढाले जानकारी दिए। अन्य घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
दुर्घटनामा घाइते हुनेहरुमा रूकुम पश्चिम आठबिसकोट नगरपालिका–५ का १७ वर्षीय महेश मल्ल, डोल्पा मुड्केचुला गाउँपालिका–१ का ४२ वर्षीय मन्चराम रोका मगर, जाजरकोट नलगाड नगरपालिका–१ की २० वर्षीया उर्मिला राना, मुड्केचुला गाउँपालिका–३ की २६ वर्षीया अन्जिला सी शाही, मुड्केचुला–१ कालिकाका १६ वर्षीय प्रविन रोका मगर, जाजरकोट नलगाड नगरपालिका–१२ का १९ वर्षीय अविन शाही, जाजरकोट भेरी नगरपालिका–१२ की १८ वर्षीया सम्झना बुढा, रूकुम पश्चिम आठबिसकोट नगरपालिका–६ का १५ वर्षीय गणेश बोहरा तथा जाजरकोट नगरपालिका–१३ का १८ वर्षीय सूर्य मल्ल रहेका छन्।
उनीहरूमध्ये केहीको टाउको, छाती, ढाड, घाँटी, खुट्टा तथा कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ।
जीप मुड्केचुला गाउँपालिका–६ नर्कु निवासी रमेश ठकुल्लाको रहेको बताइएको छ।घाईतेहरु मध्य अन्जिता सिंह शाहीको अवस्था गम्भिर रहेको छ । उहाँलाई थप उपचारका लागि नेपालगञ्जतर्फ लिईएको छ । जीप चालक आकाश शर्मा सम्पर्कमा नरहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भईरहेको बताईएको छ ।
डाेल्पा जीप दुर्घटना अपडेट: घाइते नामावली सहित
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २१ बैशाख २०८३, सोमबार २१:५०