रुकुम पश्चिम । भूकम्पले घर भत्कायो, धेरै परिवारको दैनिकी अस्तव्यस्त बनायो । कतिपय बालिकाले अभिभावक गुमाए, कतिपयले विद्यालय छोड्ने अवस्था भोगे । तर त्यही संकटबीच केही छात्राका लागि शिक्षा निरन्तरताको आशा बनेको छ श्रीज्योति फाउन्डेसनको छात्रवृत्ति कार्यक्रम ।
श्रीज्योति फाउन्डेसनले गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकार्यमा रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावित १५ जना छात्रालाई तेस्रो पटक छात्रवृत्ति वितरण गरेको छ । भूकम्पपछि सुर्खेतमा आयोजना गरिएको सांगीतिक कार्यक्रमबाट संकलित रकममार्फत फाउन्डेसनले छात्रवृत्ति कार्यक्रम सुरु गरेको हो ।
सुरुवातमा १५ जना छात्राबाट सुरु गरिएको कार्यक्रम अहिले विस्तार भएर कर्णाली प्रदेशका १० वटै जिल्लाका ३० जना छात्रासम्म पुगेको छ । फाउन्डेसनले ती छात्रालाई कक्षा १० सम्म अध्ययनका लागि आवश्यक सहयोग गर्दै आएको जनाएको छ ।
फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालले छात्रवृत्ति कार्यक्रम आगामी वर्षमा अझै विस्तार गर्ने योजना रहेको बताइन् ।
“सुरुमा १५ जना छात्रालाई सहयोग गरेका थियौं, अहिले १० वटै जिल्लाका ३० जना छात्रासम्म पुगेका छौं,” उनले भनिन्, “आगामी वर्षमा अझ धेरै विपन्न तथा जेहेन्दार बालिकालाई समेट्ने योजना छ ।”
फाउन्डेसनले छात्राहरुलाई एक वर्षका लागि आवश्यक स्टेशनरी, झोला तथा विद्यालय पोशाक उपलब्ध गराउँदै आएको छ ।
भेरी त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर पुनले भूकम्पबाट प्रभावित तथा आर्थिक अभावमा रहेका बालिकाका लागि यो कार्यक्रम निकै प्रभावकारी बनेको बताए ।
उनले विद्यालय पोशाक, किताब र कलमसमेत किन्न नसक्ने परिवारका छात्रालाई कार्यक्रमले पढाइ निरन्तर गर्न ठूलो सहयोग पुगेको उल्लेख गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज विश्वकर्माले विपन्न तथा जेहेन्दार छात्रालाई विद्यालयमा टिकाइराख्न छात्रवृत्ति कार्यक्रम उपयोगी भएको बताए । उनले कार्यक्रमलाई अझ व्यापक बनाउन सुझाव दिए ।
त्यस्तै, जनज्योति आधारभूत विद्यालय रुकुम पश्चिमकी शिक्षिका सुनिता देवकोटाले आर्थिक अभावका कारण विद्यालय आउन कठिनाइ भोगिरहेका बालिकालाई नियमित शिक्षामा जोड्न कार्यक्रमले सकारात्मक प्रभाव पारेको बताइन् ।
भूकम्प पीडित छात्रालाई ज्याेती फाउन्डेसनकाे छात्रवृत्ति सहयाेग
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २१ बैशाख २०८३, सोमबार १७:३२