
विष्णुप्रसाद देवकोटा
डोल्पा । हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलन सिजन सुरु हुन नपाउँदै चोरीका गतिविधि बढ्न थालेपछि सुरक्षा निकाय सक्रिय बनेका छन्। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लुकीछिपी यार्सागुम्बा चोर्न जाँदै गरेका ६ जनालाई आइतबार बिहान संयुक्त सुरक्षा टोलीले पक्राउ गरेको छ।
शे–फोक्सुण्डो गाउँपालिका अन्तर्गत पर्ने कुनास यार्सा पाटनतर्फ जाँदै गरेका जुम्लाको पातारासी गाउँपालिकाका ६ जनालाई निकुञ्जको सुम्दुवा क्षेत्रमा खटिएको निकुञ्ज कर्मचारी र नेपाली सेनाको संयुक्त सुरक्षा पोस्टले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा पातारासी–१ का ३० वर्षीय लोक ऐडी, २९ वर्षीय मंगल ऐडी, १९ वर्षीय सुरेशबहादुर बुढा, ४७ वर्षीय सिंहबहादुर बुढा, ३८ वर्षीय सुर ऐडी र १७ वर्षीय नवराज ऐडी रहेका छन्।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि निकुञ्ज कार्यालय सुलिगाडमा राखिएको निमित्त संरक्षण अधिकृत तथा सूचना अधिकारी विज्ञान सेनले जानकारी दिए। उनका अनुसार यार्सापाटन आधिकारिक रूपमा नखुल्दै चोरीका उद्देश्यले पाटन क्षेत्रमा प्रवेश गर्ने गतिविधि नियन्त्रण गर्न सुरक्षा निगरानी थप कडा बनाइएको छ।
यसअघि पनि गत वैशाख ११ गते जगदुल्ला गाउँपालिका अन्तर्गत फूलबारी यार्सा पाटनबाट दुई जनालाई पक्राउ गरिएको थियो। तोइजुमस्थित निकुञ्ज र नेपाली सेनाको संयुक्त सुरक्षा गस्तीले नियन्त्रणमा लिएका ती व्यक्तिलाई दुई दिनसम्म नियन्त्रणमा राखी बयान लिएपछि हाजिरी जमानीमा रिहा गरिएको थियो।
यार्सागुम्बा संकलनको समय नजिकिँदै जाँदा डोल्पाका विभिन्न पाटन क्षेत्रमा चोरी, अनधिकृत प्रवेश र अवैध संकलनका प्रयास बढ्दै गएको सुरक्षा निकायको निष्कर्ष छ। यही अवस्थालाई मध्यनजर गर्दै शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सार्दुल गुल्म सुलिगाड र निकुञ्ज कर्मचारीको संयुक्त सुरक्षा गस्ती थप प्रभावकारी बनाइएको नेपाली सेनाका गुल्मपति सेनानी हरिश शाहीले बताए।
जिल्लास्थित सरोकारवालाहरूको सर्वपक्षीय तथा सर्वदलीय बैठक वैशाख २२ गते जिल्ला समन्वय समितिको सभाहलमा बस्ने तय भएको छ। बैठकमा सुरक्षा निकायका प्रमुख, निकुञ्ज कार्यालय, मध्यवर्ती समिति, डिभिजन वन कार्यालय, सामुदायिक वनका प्रतिनिधि तथा अन्य सरोकारवाला सहभागी हुनेछन्। सोही बैठकले जिल्लाभरका यार्सापाटन आधिकारिक रूपमा खुला गर्ने मिति निर्धारण गर्ने जनाइएको छ।
सुरक्षा अधिकारीहरूका अनुसार विगतका वर्षहरूमा जिल्लास्तरीय निर्णयलाई बेवास्ता गर्दै केही सामुदायिक वन, निजी वन समिति तथा मध्यवर्ती क्षेत्रहरूले मनपरी ढंगले पाटन खोल्ने, अतिरिक्त शुल्क उठाउने तथा संकलकलाई दुःख दिने कार्य गर्दै आएका थिए। विशेषगरी काइके क्षेत्र, उपल्लो डोल्पाको धो, शे–फोक्सुण्डो, ठूलीभेरी–१० र ११ का रहपरिला गाउँ वन क्षेत्र तथा माझफाल क्षेत्रमा यस्ता गतिविधिबारे व्यापक गुनासा आउने गरेका थिए।
यस वर्ष भने जिल्लास्तरबाट तय गरिने मितिभन्दा अघि कुनै पनि पाटन खोल्न नदिने र ताेकिएकाे मिति भन्दा पछि खुला गरेपनि कानुनी कारबाही गरिने सुरक्षा निकायले चेतावनी दिएको छ। जिल्लास्थित तीनवटै सुरक्षा निकायले संयुक्त रूपमा निगरानी तथा नियन्त्रणलाई थप कडा बनाउने तयारी गरेका छन्।
निकुञ्ज प्रशासनले पनि आधिकारिक निर्णय नहुँदासम्म कोही कसैलाई यार्सापाटन क्षेत्रमा प्रवेश नगर्न आग्रह गरेको छ। “पाटन खुल्ने मिति तय नभएसम्म चोरी वा अवैध रूपमा यार्सा संकलन गर्न जाने जो–कोहीमाथि कानुनी कारबाही हुन्छ,” निकुञ्ज प्रशासनले भनेकाे छ।
पाटन नखुल्दै यार्सा चोरीको प्रयास : डोल्पाका पाटनबाट जुम्लाका ६ जना पक्राउ
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २० बैशाख २०८३, आईतवार २१:३८