डोल्पा उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष लालिमान बुढा बैङ्किङ कसुर सम्बन्धी मुद्दामा पक्राउ परेका छन्। ठूलीभेरी नगरपालिका–३, दुनै बजार निवासी बुढाविरुद्ध डोल्पा र बाँके जिल्लामा गरी ५० लाख रुपैयाँ बराबरकाे बैङ्किङ कसुर मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रुकबहादुर खड्काका अनुसार बुढाविरुद्ध डोल्पामा १० लाख रुपैयाँ तथा लुम्बिनी प्रदेशअन्तर्गत बाँके जिल्लामा ४० लाख रुपैयाँ बराबरको बैङ्किङ कसुर मुद्दा रहेको छ।
प्रहरीका अनुसार वैशाख १५ गते नियन्त्रणमा लिइएका बुढामाथि डोल्पामा आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी वैशाख १८ गते राति नै जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मा लगाइएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक दीपक पतालीले बुढाविरुद्ध ४० लाख रुपैयाँ बराबरको बैङ्किङ कसुर मुद्दा दर्ता रहेको पुष्टि गरेका छन्।
उनले बुढालाई डोल्पा प्रहरीले शुक्रबार राति मात्रै बुझाएको र त्यसलगत्तै सार्वजनिक बिदा परेकाले सोमबार अदालतमा उपस्थित गराइने जानकारी दिए।हाल बुढा जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका छन्।

डोल्पा न्यूज । २० बैशाख २०८३, आईतवार ११:१०