ताजा समाचार

कमजोर आधारबाट उकासिँदै रास्वपा : डोल्पामा तदर्थ समिति गठन

विष्णुप्रसाद देवकोटा
डोल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डोल्पामा औपचारिक रूपमा संगठन विस्तार अभियान सुरु गरेको छ। हालसम्म जिल्लामा सशक्त संगठन संरचना बनाउन नसकेको रास्वपाले बुधबार जिल्ला तदर्थ समिति गठन गर्दै संगठन निर्माणको थालनी गरेको हो।
सदरमुकाम दुनैस्थित समन्वय सभाहलमा सम्पन्न भेलाले देवसिं ऐडीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति सर्वसम्मत चयन गरेको छ। ऐडी गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा डोल्पाबाट प्रत्यक्षतर्फ उम्मेदवारसमेत बनेका थिए।
समितिको उपसभापतिमा युवराज शाही, सचिवमा ज्ञानबहादुर बुढा, सह–सचिवमा सुबास कार्की र कोषाध्यक्षमा जुनु हिराचन चयन भएका छन्। नवगठित समितिका अध्यक्ष ऐडीका अनुसार अब जिल्ला भर संगठन विस्तारलाई तीव्र बनाइनेछ।
रास्वपाका कर्णाली प्रदेश सभापति मदन खड्काले तदर्थ समिति गठनसँगै डोल्पामा संगठन निर्माण अभियान औपचारिक रूपमा सुरु भएको जानकारी दिए। उनले आगामी दिनमा वडा तहसम्म संगठन विस्तार गर्ने योजना रहेको बताए।

रास्वपाले समानुपातिक तर्फ उल्लेखनीय मत प्राप्त गर्दै जिल्लामा तेस्रो शक्तिका रूपमा आफूलाई स्थापित गर्न सफल भएको थियो।तरसंगठन संरचना कमजोर भएका कारण रास्वपाले गत प्रतिनिधि सभा निर्वाचनमा डोल्पाबाट प्रत्यक्षतर्फ हार व्यहोरेको थियो।

तपाईको प्रतिक्रिया