ताजा समाचार

त्रिपुरासुन्दरीमा स्थानीय सम्भावनामै समृद्धिको खोजी

विष्णुप्रसाद देवकोटा /डोल्पा
हिमाली जिल्लाहरूको साझा चुनौती बनेको बेरोजगारी, युवाको बढ्दो पलायन र सीमित आर्थिक अवसरबीच त्रिपुरासुन्दरी नगरपालिकाले स्थानीय स्रोत र सम्भावनालाई केन्द्रमा राखेर रोजगारी प्रवर्द्धनको बहसकाे थालनी गरेकाे छ ।

नगरपालिकाको आयोजनामा सम्पन्न रोजगार संवाद मञ्चको समुदायस्तरीय अन्तरक्रिया कार्यक्रमले डोल्पाको विकास र समृद्धिको आधार स्थानीय स्रोत–साधनको प्रभावकारी उपयोग हुनुपर्ने निष्कर्ष समेत निकालेको छ।
कार्यक्रममा नगरप्रमुख जनचन्द्र रोकाया, उपप्रमुख देवी घर्ती, वरिष्ठ अधिकृत अधिकृत थानेश्वर पनेरु, वडा नं. ३ का अध्यक्ष भक्तबहादुर केसी, वडा नं. ४ का अध्यक्ष रञ्जित बुढा, सुस्वा परियाेजनाका संयाेजक धनप्रसाद बुढा लगायत उद्यमी, व्यापारी, सहकारीकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।
रोजगार संयोजक जयबहादुर विष्टले कार्यक्रमको अवधारणा प्रस्तुत गर्दै मञ्चले स्थानीय तहभित्र उपलब्ध अवसरहरूको खोज, सीप र श्रमको व्यवस्थापन तथा रोजगारमूलक योजनाहरूबीच समन्वय गर्ने उद्देश्य राखेको जानकारी दिए।

उनले आगामी दिनमा बेरोजगार युवाको तथ्यांक व्यवस्थापन, सीप पहिचान, तालिम र उद्यम विकासलाई एकीकृत रूपमा अघि बढाइने समेत बताए।
छलफलका क्रममा डोल्पामा प्रशस्त मात्रामा उपलब्ध जडीबुटी, यार्सागुम्बा, कृषि उत्पादन, पशुपालन र पर्यटन क्षेत्रलाई आयआर्जन तथा रोजगार विस्तारका प्रमुख आधारका रूपमा विकास गर्नुपर्ने सुझाव सहभागीले दिएका थिए।

स्थानीय उत्पादनलाई मूल्य अभिवृद्धिसहित बजारसम्म पुर्‍याउने, उद्यमशीलता विकास गर्ने र सहकारीमार्फत आर्थिक गतिविधि विस्तार गर्ने विषयलाई प्राथमिकता दिइएको थियो।

सहभागीहरूले विकास निर्माणका कार्यक्रमहरूबीच समन्वय अभाव हुँदा स्रोतको दोहोरो उपयोग र अपेक्षित उपलब्धि हासिल गर्न कठिन हुने भएकाले स्थानीय, प्रदेश र संघीय तहबीच सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे।

योजना कार्यान्वयनसँगै अनुगमन र मूल्याङ्कन प्रणालीलाई पनि सुदृढ बनाउनुपर्नेमा सहभागीले जाेड दिए।
श्रमप्रतिको सम्मान अभिवृद्धि, सीपयुक्त जनशक्तिको पहिचान तथा संरक्षण, रोजगारदाता र तालिम प्रदायक संस्थाबीच सहकार्य विस्तार तथा तालिमलाई प्रत्यक्ष उत्पादन र रोजगारसँग जोड्ने विषयमा समेत व्यापक छलफल गरिएको थियाे।
डोल्पाको समृद्धि बाह्य अवसरको खोजीभन्दा पनि आफ्नै भूगोल, प्राकृतिक सम्पदा र स्थानीय उत्पादनको सदुपयोगमा निर्भर रहने निष्कर्षसहित स्थानीय स्तरमा दिगो रोजगार सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ कार्यक्रमले साझा प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया