डाेल्पान्युजडेक्स
सत्तालाई प्रश्न गर्ने, नागरिकका आवाजलाई सार्वजनिक बहसमा ल्याउने र समाजका बेथितिमाथि निरन्तर खबरदारी गर्ने पत्रकारितालाई ठुलीभेरी नगरपालिका–७ जुफाल वडा कार्यालयले सम्मान गरेको छ।
विकास, सुशासन, सामाजिक रूपान्तरण र सार्वजनिक उत्तरदायित्वका सवालमा करिब ३१ वर्षदेखि निरन्तर कलम चलाउँदै आएका वरिष्ठ पत्रकार विष्णुप्रसाद देवकोटालाई वडा कार्यालयले विशेष कार्यक्रमबीच सम्मान गरेको हो।
ऋतम्भरा मिडिया प्रालि त्रिपुराकोटद्वारा सञ्चालित डोल्पान्युज अनलाइनका प्रकाशक तथा सम्पादक एवं एभिन्युज टेलिभिजनका डोल्पा संवाददाता देवकोटालाई ठुलिभेरनगरपालिकाका नगरप्रमुख सुवर्ण कुमार बुढा उपप्रमुख छिरिङ टाेल्मा महत र वडानम्वर –७ का वडाध्यक्ष ध्रुवविक्रम शाही र प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त उपाधा्यायले दोसल्ला ओढमएर फुलमाला अविर टीका लगाएर नगदका सहित सम्मानपत्र प्रदान गरेका थिए।
वडा कार्यालयकाे नवाै बार्षिकाेयत्सब अवसर पारेर पत्रकार देवकोटा सहित वडाक्षेत्र भित्रका विभिन्न विधागत निजामती कर्मचारी राष्ट्रसेवक कर्मचारी सुरक्षाकर्मी शिक्षिका र समिट एयरका स्टेसन म्यानेजर सम्मानित भए ।
देवकोटाले लामो समयदेखि जिल्लाका विकासका सम्भावना र नागरिक सरोकारका विषयलाई प्राथमिकतामा राख्दै आएका छन्। सँगसँगै सार्वजनिक निकायमा देखिने अनियमितता, बेथिति र विसंगतिमाथि प्रश्न उठाउँदै सुधारका लागि निरन्तर खबरदारी गर्दै आएका छन्।
सम्मान कार्यक्रममा जिल्ला समन्वय प्रमुख रोकाया र वडाध्यक्ष शाहीले पत्रकारिताका अग्रजलाई सम्मान गर्न पाउँदा आफूहरू गौरवान्वित भएको बताए। उनीहरूले पत्रकारिताले समाजका विकृति र विसंगतिमाथि प्रश्न उठाउँदै सुशासन र सकारात्मक परिवर्तनका लागि भूमिका खेल्ने भएकाले यस्तो सम्मानले पत्रकारलाई अझ जिम्मेवार र उत्साहित बनाउने धारणा राखे।
कार्यक्रममा देवकोटासँगै वडा क्षेत्रभित्र उत्कृष्ट सेवा प्रवाह गर्ने राष्ट्रसेवक कर्मचारीलाई समेत सम्मान गरिएको थियो।
आलोचनालाई सम्मान गर्ने संस्कार
पत्रकारको काम सधैं प्रशंसा गर्नु होइन, गल्ती देखिए प्रश्न गर्नु र सुधारका लागि खबरदारी गर्नु पनि हो। यही कारण आलोचनात्मक पत्रकारिता र सार्वजनिक निकायबीचको सम्बन्ध कतिपय अवस्थामा सहज नहुन सक्छ।
यस्तो परिवेशमा जुफाल वडा कार्यालयले आलोचनात्मक पत्रकारितालाई सम्मानको दृष्टिले हेर्दै पत्रकार देवकोटालाई सार्वजनिक रूपमा सम्मान गर्नु एउटा सकारात्मक सन्देशका रूपमा देखिएको छ।
स्थानीय तहले आफ्नै क्षेत्रबाट पत्रकारितामा लामो समय योगदान पुर्याएका पत्रकारलाई विशेष कार्यक्रममार्फत सम्मान गरेको यो पहल जिल्लाकै सन्दर्भमा अर्थपूर्ण बनेको छ। यो सम्मान एउटा व्यक्तिको योगदानको कदरमा मात्र सीमित नभई पत्रकारिता, स्थानीय सरकार र नागरिकबीचको स्वस्थ सम्बन्ध निर्माण गर्ने प्रयासका रूपमा समेत लिन सकिन्छ।
पत्रकारले प्रश्न उठाउँदा त्यसलाई व्यक्तिगत आलोचना वा विरोधका रूपमा बुझ्नेभन्दा सुधारका लागि प्राप्त सार्वजनिक सुझावका रूपमा ग्रहण गर्ने संस्कार विकास हुन सके स्थानीय शासन अझ उत्तरदायी बन्न सक्छ।
जुफालको यो पहलले त्यही सम्भावनातर्फ संकेत गरेको छ—पत्रकारिताको धारलाई सम्मानले भुत्ते बनाउने होइन, अझ जिम्मेवार, निष्पक्ष र निर्भीक बनाउने हो।
स्थानीय तह र सार्वजनिक निकायले प्रश्न गर्ने पत्रकारितालाई लोकतन्त्रको पहरेदारका रूपमा स्वीकार गर्दै योगदानको सम्मान गर्ने संस्कारलाई निरन्तरता दिन सके त्यसको प्रत्यक्ष लाभ अन्ततः नागरिक, सरकार र समग्र समाजले नै पाउनेछ।

डोल्पा न्यूज । २६ भाद्र २०८३, शुक्रबार २२:०१