ताजा समाचार

डोल्पामा खैरो हेरोइन जस्ताे देखिने पदार्थ र ६२ हजार ५ सय नगद सहित दुई जना पक्राउ

विष्णुप्रसाद देवकोटा
डोल्पा।डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट बजारस्थित एक होटलबाट खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार मंगलबार साँझ करिब ७:५० बजे त्रिपुराकोटस्थित फलग फिगर होटलमा कोठा भाडामा लिएर बसेका व्यक्तिहरूले लागूऔषध बिक्री–वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले कानुनबमोजिम खानतलासी गरेको थियो।
खानतलासीका क्रममा ठूलीभेरी नगरपालिका–८ निवासी २५ वर्षीय सन्तोष भण्डारी र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ निवासी २३ वर्षीय नवीन खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट प्लास्टिकसहित ०.९४ ग्राम तथा प्लास्टिकबाहेक ०.४४ ग्राम तौल भएको खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद भएको छ।

साथै नगद ६२ हजार ५०० रुपैयाँ र विभिन्न कम्पनीका तीन थान मोबाइल फोन समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक विनयकुमार सिंहले जानकारी दिए।
पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। बरामद पदार्थको प्रकृति र सम्भावित सञ्जालबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

तपाईको प्रतिक्रिया