ताजा समाचार

डाेल्पाकाे करबगाडमा फाइबर काटिँदा तीन दिन देखि टेलिकम सेवा प्रभावित

विष्णुप्रसाद देवकोटा
डोल्पा ।रुकुम पश्चिमको आठबीसकोट नगरपालिका अन्तर्गत राडी क्षेत्रमा नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्कमा समस्या उत्पन्न भएपछि डोल्पामा नेपाल टेलिकमका अधिकांश दूरसञ्चार सेवा तीन दिनदेखि प्रभावित भएका छन्।
नेपाल टेलिकम डोल्पाका कार्यालय प्रमुख दयाविक्रम केसीका अनुसार डोल्पाको करबगाड क्षेत्रमा दुईवटा विद्युत/दूरसञ्चार पोल ढलेपछि अप्टिकल फाइबर तार काटिएको हो।

त्यसका कारण डोल्पामा उपलब्ध फाइबर ब्याकबोनमार्फत सञ्चालित इन्टरनेट, डाटा तथा दूरसञ्चार सेवामा अवरोध सिर्जना भएको उनले बताए।
उनका अनुसार जाजरकोटबाट प्राविधिक टोली घटनास्थलतर्फ खटिसकेको छ।

क्षतिग्रस्त पोल र फाइबर लाइन मर्मतको काम तीव्र रूपमा भइरहेको र मौसमले साथ दिए आज साँझसम्म सेवा पुनः सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ।फाइबर नेट अवरुद्ध हुंदा ठुलिभेरि नगरपालिका जुफाल त्रिपुरासुन्दरी लगायतका क्षेत्रमा तीन दिन देखि सेवा ठप्प छ ।
हाल वैकल्पिक रूपमा रेडियो लिंक मार्फत सेवा सञ्चालन गरिए पनि यसको क्षमता फाइबर नेटवर्कको तुलनामा सीमित भएकाले सेवा प्रभावकारी हुन सकेको छैन। इन्टरनेटको गति सुस्त हुनुका साथै फोन र डाटा सेवामा पटक–पटक अवरोध देखिएको टेलिकमले जनाएको छ।
डोल्पाजस्तो दुर्गम हिमाली जिल्लामा अधिकांश सञ्चार सेवा एउटै फाइबर ब्याकबोनमा निर्भर भएकाले यस्तो समस्या देखिँदा सरकारी कार्यालय, बैंकिङ कारोबार, शैक्षिक संस्था, स्वास्थ्य सेवा, सुरक्षा निकाय तथा सर्वसाधारणको दैनिक सञ्चारसमेत प्रभावित हुने गरेको छ।

तपाईको प्रतिक्रिया