ताजा समाचार

डाेल्पामा ब्रेक फेल हुँदा भएकाे जीप दुर्घटनामा काे काे भए घाइते नामावली सहित

डोल्पा, जेठ ३० — सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको यात्रुवाहक जिपको ब्रेक फेल भएपछि भएको दुर्घटनामा नौ जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार साँझ करिब ६:३० बजे ठूलीभेरी नगरपालिका–९ भित्तीस्थित सडकखण्डमा ग १ ज ६४३७ नम्बरको जिप अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको रा १ च २९४८ नम्बरको ट्याक्टरसँग ठोक्किएको थियो। मोतिपुर निवासी ३१ वर्षीय राजकुमार सिंहले चलाएको उक्त जिपमा सवार यात्रुहरू दुर्घटनामा परेका हुन्।
घाइते हुनेमा छार्का ताङसोङ गाउँपालिका–६ का २७ वर्षीय कारप लामा, सोही पालिका–५ का १९ वर्षीय पेमा दोर्जे, रुकुम पश्चिम आठबिसकोट नगरपालिका–११ की ३५ वर्षीया नबिना राना र १४ वर्षीय केशव रानामगर, जाजरकोट बारेकोट गाउँपालिका–४ का २७ वर्षीय प्रेमबहादुर रावत र २२ वर्षीया ललिता पुन मगर तथा सुर्खेत बराहताल गाउँपालिका–६ का ३० वर्षीय दीप रामजाली, २८ वर्षीय बखत विक र ३८ वर्षीय रमेश रामजाली रहेका छन्।
प्रहरीका अनुसार अधिकांश घाइतेको अवस्था सामान्य रहेको छ। केही यात्रुको टाउकोमा चोट लागेको छ भने अरूको छाती, नाक, दायाँ हात र बायाँ काँधमा चोट लागेको छ। सबै घाइतेको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ।
दुर्घटनापछि दुवै सवारी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिएका छन्। दुर्घटनाग्रस्त जिप र ट्याक्टर घटनास्थलमै रहे पनि सडक आवागमन भने अवरुद्ध भएको छैन।

तपाईको प्रतिक्रिया