विष्णुप्रसाद देवकोटा
डोल्पा । डोल्पालाई आगामी जेठ मसान्तभित्रै ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गर्ने लक्ष्यसहित एचपिभी (HPV) खोप अभियानलाई तीव्र पारिने भएको छ। जिल्ला खोप समन्वय समिति डोल्पाको बुधबार सम्पन्न बैठकले यस्तो रणनीतिक निर्णय गरेको हो।
स्वास्थ्य सेवा कार्यालय डोल्पाको आयोजनामा बसेको बैठकले विशेष गरी किशोरी लक्षित एचपिभी खोप कार्यक्रमलाई प्रभावकारी बनाउँदै छुटेका लक्षित समूहलाई समेट्ने गरी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय नजाने १० वर्ष उमेर समूह तथा गत वर्ष छुटेका कक्षा ७ देखि १० सम्मका छात्रा र ११–१४ वर्ष उमेर समूहका किशोरीलाई समेट्दै बैशाख १० गतेदेखि २५ गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ।
माथिल्लो डोल्पाका शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकामा भने भौगोलिक अवस्थाका कारण बैशाख १५ गतेपछि मात्रै कार्यक्रम सञ्चालन हुने निर्णय गरिएको छ। विद्यालय केन्द्रित खोप कार्यक्रममार्फत अधिकतम सहभागिता सुनिश्चित गर्ने योजना बनाइएको छ।
बैठकले पूर्ण खोप सुनिश्चितताको अर्को महत्वपूर्ण चरणका रूपमा ‘खोज र खोप अभियान’ सञ्चालन गर्ने निर्णय पनि गरेको छ। राष्ट्रिय खोप निर्देशिका अनुसार अनुसूची १, २ र ३ तयार गरी बैशाख महिनाभर छुटेका बालबालिकालाई खोप दिइनेछ भने अनुसूची ४ देखि ७ सम्मको विवरण पूरा गर्दै जेठ पहिलो सातासम्म सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने लक्ष्य राखिएको छ।
स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डा. सिजन रावलका अनुसार जिल्लामा अघिल्लो वर्षको तथ्यांक हेर्दा अधिकांश स्थानीय तहमा एचपिभी खोपको पहुँच उच्च रहेको भए पनि केही स्थानमा अझै छुटपुट बालिका बाँकी छन्। “यो अभियानले ती सबैलाई समेट्दै जिल्लालाई पूर्ण खोप सुनिश्चिततामा लैजानेछ,” उनले भने, “सबै सरोकारवालाको साथ अपरिहार्य छ।”
जिल्ला समन्वय समिति डोल्पाका प्रमुख तथा समिति अध्यक्ष श्यामबहादुर रोकायाले खोप अभियानमा खटिने स्वास्थ्यकर्मी र सहयोगी निकायप्रति आभार व्यक्त गर्दै कुनै पनि बालबालिका नियमित खोपबाट वञ्चित नहुन आग्रह गरे।
सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपिभी खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ। डोल्पामा यसअघि पनि उच्च उपलब्धि देखिए पनि अब ‘पूर्ण सुनिश्चितता’ हासिल गर्ने लक्ष्यसहित अभियानलाई थप केन्द्रित बनाइएको छ।
एचपिभी खोप अभियान
डाेल्पालाई जेठभित्रै ‘पूर्ण खोप सुनिश्चित’ जिल्ला बनाइने
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । १७ बैशाख २०८३, बिहीबार ०६:०९