डोल्पा। बर्खायाम नजिकिँदै गर्दा डोल्पामा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई तीव्र बनाउने निर्णयसहित जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी तथा समितिका अध्यक्ष जुनु हमाल ढकालको अध्यक्षतामा बसेको बैठकले चार महत्वपूर्ण निर्णय गर्दै आगामी जोखिम व्यवस्थापनमा केन्द्रित हुने संकेत दिएको छ।
बैठकले चालु आर्थिक वर्षको असोजदेखि हालसम्म भएका विभिन्न विपद्का घटनाबाट प्रभावित नागरिकलाई वितरण गरिएको राहत रकम अनुमोदन गरेको छ। यसक्रममा घर जलेर क्षति व्यहोरेका जनचन्द्र बुढा र विष्णु रोकायालाई जनही २० हजार रुपैयाँ उपलब्ध गराइएको समितिले जनाएको छ।
आगामी बर्खामा हुन सक्ने बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै संयुक्त अभ्यास सञ्चालन गर्ने, विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय र सञ्चार मजबुत बनाउने निर्णय गरिएको छ। साथै, डाँगीवाडा एकीकृत बस्ती विकास कार्यक्रम कार्यान्वयनका लागि सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ अनुसार प्रक्रिया अगाडि बढाउन पूर्वाधार विकास कार्यालय डोल्पालाई निर्देशन दिइएको छ।
बैठकमा स्थानीय विपद् व्यवस्थापन समितिहरू सक्रिय नभएसम्म प्रभावकारी व्यवस्थापन सम्भव नहुनेमा जोड दिइएको छ। विकास योजना निर्माण र कार्यान्वयनमा संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय अभाव हुँदा नागरिकले समस्या भोग्नुपरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टी डोल्पाका नेता बबिकिश्वर गुरुङले विपद् पूर्वतयारीमा स्थानीय तहका जनप्रतिनिधिलाई जिम्मेवार बनाउन जिल्ला तहबाट प्रभावकारी समन्वय आवश्यक रहेको बताए। विशेषगरी बर्खायाममा भेरी करिडोर क्षेत्रका सडकहरूमा बाढी–पहिरोले बढी समस्या ल्याउने भएकाले सम्बन्धित निकायले पूर्वतयारीसहित सक्रिय भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।
बैठकले विगतका विपद्का घटनाबाट पाठ सिक्दै यस वर्ष थप सजग र तयारी अवस्थामा रहन सबै निकायलाई आह्वान गरेको छ।
विपद् पुर्वतयारी बैठक
बर्खा अगावै डोल्पामा विपद् तयारी तीव्र : बाढी–पहिरो जोखिम न्यूनीकरण समन्वयमा जोड
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । १५ बैशाख २०८३, मंगलवार १८:०८